आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बढी भाडा असुल गर्ने पाँच जना पक्राउ

काठमाडौं – दसैँ मनाउन  उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल गर्ने आरोपमा पाँच जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जनालाई पक्राउ गरेको हो।

दसैँको बहानामा सर्वसाधारणबाट बढी भाडा असुल गरेको, यात्रुलाई अनावश्यक दुःख दिएको र नक्क टिकट बनाएर यात्रुलाई ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मकवानपुरको हेटौँडा स्थायी घर भई काठमाडौं बस्ने सन्देश श्रेष्ठ र काठमाडौंका रोहित लामा यात्रुबाट बढी भाडा असुलेको पाइएपछि पक्राउ परेका छन्।

नक्कली टिकट बनाएर यात्रुलाई ठगेको पाइएपछि महोत्तरीको बर्दिबासका अनिल बुढाथोकी, काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

दसैँको समयमा यात्रुबाट बढी भाडा असुल गर्ने, नक्कली टिकट बेच्ने, यात्रुलाई दुःख दिने र विभिन्न ढंगले ठग्नेलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले टोली परिचालन गरेको छ। 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : ५६ बजे