काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङले नेपालविरुद्ध ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गर्यो ।
हङकङका यास्मिन मुर्तजाले ३६ रन बनाए । जिसान अलीले १७ रन थपे । यसबाहेक हङकङका अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङविरुद्ध घातक बलिङ गरेका नेपालका करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले १५ रन खर्चिए । अभिनास बोहरा र सोमपाल कामीले समान दुई विकेट लिए ।
मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।
शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो । हङकङको भने यो पहिलो खेल हो ।
ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालले कार्तिक ४ गते पुनः हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
प्रतियोगिताको लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार १२ : ५८ बजे
प्रतिक्रिया