नेपालमा ‘मध्यम खालको भोकमरी’

काठमाडाैँ । विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालमा ‘मध्यम खालको भोकमरी’ रहेको पाइएकाे छ । 

गत साता सार्वजनिक भएको उक्त प्रतिवेदन अनुसार नेपाल ‘मध्यम खालको भोकमरी’देशकाे सूचीमा परेकाे हाे ।

दक्षिण एशियामा भारत, पाकिस्तान तथा बाङ्ग्लादेशभन्दा नेपालकाे अवस्था राम्रो देखिएको प्रतिवेदनले जनाएकाे छ । भारत, पाकिस्तान र अफगानिस्तान चाहिँ ‘गम्भीर खालको भोकमरी’ भएका देशका रूपमा रहेका छन्।

माल्दिभ्स र भूटानको तथ्याङ्क प्राप्त नभएको भन्दै प्रतिवेदनमा विवरण समेटिएको छैन।

विश्वभरिको भोकमरीको अवस्था दर्शाउने भनिएको उक्त प्रतिवेदनलाई भारतले “त्रुटिपूर्ण” भन्दै त्यसले आफ्नो देशको अवस्था नझल्काउने बताएको छ।

नेपालको स्थान​​​​​​​

गत वर्ष (सन् २०२२) विश्व भोकमरी सूचकाङ्क (जीएचआई) मा नेपाल ८१औँ स्थानमा रहेकोमा यसपालि (सन् २०२३) मा त्यसमा सुधार भएको देखिएको हो।

यो वर्ष नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लदैँ ६९औँ स्थानमा रहेको प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनमा कुल १२५ देशको सूचकाङ्क निकालिएको छ।

शून्यदेखि १०० अङ्कमा मापन गरिने यस्तो सूचकाङ्कमा जसको अङ्क सबैभन्दा कम हुन्छ त्यसैलाई कम भोकमरी भएको देशको रूपमा लिइन्छ भने जति बढी अङ्क भयो त्यति नै भोकमरी धेरै छ भन्ने बुझिन्छ।

नेपालको अङ्क १५ रहेको छ र त्यो मध्यम खालको भोकमरी भएको अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

आयरल्यान्डस्थित ‘कन्सर्न वल्डवाइड’ र जर्मनीस्थित वेल्टहङ्गर हिल्फे नाम गरेका दुईवटा संस्थाले उक्त प्रतिवेदन तयार पारेर सार्वजनिक गरेका हुन्।

दक्षिण एशियाका अन्य देशहरूमा श्रीलङ्का नेपालभन्दा राम्रो अवस्थामा रहेको छ। श्रीलङ्का ६०औँ स्थानमा छ।

त्यस्तै बाङ्ग्लादेश ८१औँ स्थानमा, पाकिस्तान १०२ स्थानमा, भारत १११औँ स्थानमा र अफगानिस्तान ११४औँ स्थानमा रहेका छन्।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १२ : ४० बजे