ठक्कर दिई भाग्ने इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेपलान्चोक । वीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको पनौती–५ सुन्दर बस्तीमा इलेक्ट्रिक गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।

गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने ५१ वर्षीय टङ्कप्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपालिका–३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–२ की ज्ञानु ढुङ्गेल, रकिट ढुङ्गेल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ बस्ने उर्मिला घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।

इलेक्ट्रिक गाडी चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ११ : ३७ बजे