पत्रकारले कान्तिपुर घेरे

काठमाडौं । नेपाल पत्रकार महासंघको आयोजनामा निष्कासित पत्रकारहरूले कान्तिपुर मिडिया ग्रुपको गेटमा धर्ना थालेका छन्।

मंगलबार कान्तिपुरले गैरकानुनी रुपमा सरुवा गरेको, निष्कासित गरेको भन्दै उनीहरूले धर्ना दिएका हुन्। उनीहरूको आन्दोलनमा श्रमजीवी-पत्रकार संघलगायत अन्य मिडियामा कार्यरत पत्रकारहरूले ऐक्यबद्धता जनाएका छन्।

कान्तिपुरका पीडित पत्रकार प्रज्वल ओलीले कान्तिपुर मिडियाले ८६ जना पत्रकारहरूलाई सरुवा, निष्कासन गरेको जानकारी दिए। ‘कान्तिपुरले ८६ जना पत्रकारलाई सरुवा गर्ने र निष्कासन गरेको छ,हाम्रो माग पूरा नहुञ्जेल आन्दोलन रोकिँदैन,’उनले भने।

उनीहरूले पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले असोज १२ गते व्यवस्थापनसमक्ष बुझाएको १२ बुँदे मागपत्र र महासंघ केन्द्रीय कार्यालयले जनाएको प्रतिबद्धतालाई कान्तिपुरले बेवास्ता गरेको बताएका छन्।  कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघको शाखाबीच भएको ७ बुँदे सहमतिमा पनि उनीहरूले अस्वीकार गरेका छन्। 

आइतबार कान्तिपुर व्यवस्थापन र महासंघ शाखाबीच पत्रकारहरूलाई न्यूनतम अवकाश प्याकेज दिने सहमति भएको थियो। तर त्यहाँकै पत्रकारहरूले उक्त सहमतिलाई अस्वीकार गरेका छन्। त्यसपछि उनीहरू विरोधमा उत्रिएका हुन्। 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ०२ बजे