“पहिचानले प्रगतिको गतिमा अवरोध गर्छ भने पहिचानलाई पुनः परिभाषित गरेर त्यसको संरक्षण र सम्बर्द्धनसँगै प्रगतिको नयाँ यात्रा ठिक गतिका साथ सुरु गर्नुपर्छ अन्यथा एउटा गलत कदमले हाम्रा सपनाहरू नष्ट गर्दै राष्ट्रिय आकाङ्क्षालाई कमजोर बनाउने छ।”
नवउदारवाद र उपयोगितावादले सहकार्य गरेर बनेको कम्फर्टेवलवादले जतिबेला पनि देशलाई धोका दिन सक्छ, यो उनीहरूको मूल चरित्र हो। गएका तीन दशक यही राजनीतिक चरित्रबाट देश पीडित भइरहेको छ। झट्केलो सन्तानबाट वंश खोज्ने प्रवृत्ति र चरित्र कम्फर्टेवलवादमा देखिएको छ। नेपाली काँग्रेसका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बन्न दिनुहुन्न भनेर अन्तिम अवस्थासम्म इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन प्रयास गरेकाहरू अहिले कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि डा। शेखर कोइरालासँग कबुलियतनामा गरेर मुख्यमन्त्री गठबन्धनकै हो भन्दैछन्। अब मुख्यमन्त्री केदार कार्की र उनका सहयोगी हातहरूको इमानको परीक्षण हुनेछ।
केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड भन्छन्, “आज बिहान मात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बिचमा समझदारी बनाएका छौँ । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौँ, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ। अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ। उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्यान्डिङ हुँदाखेरि सेफल्यान्डिङ गरेका छौँ।”
नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनको उम्मेदवार इन्द्र आङ्बोको ठाउँमा शेखर काँग्रेसका केदार कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएपछि कम्फर्टेवल गठबन्धनमा भुँइचालो गएको प्रचण्ड, देउवा र शेखरबीच भएको कबुलियतनामाको चिर्कटोले स्पष्ट सङ्केत गरेको छ। एमालेको समर्थनबाट कार्की मुख्यमन्त्री बनेपछि कोशी प्रदेशको काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दलको नेता पदबाट राजीनामा दिएका छन् भने माओवादी केन्द्रका इन्द्र आङ्बोले आफूलाई काँग्रेसबाट धोका भएको भनेका छन्।
कोशीमा जसरी कम्फर्टेवल गठबन्धनलाई धक्का दिन नेकपा एमाले आंशिक रूपमा सफल भयो यसलाई पूर्णता दिने ढङ्गले सुझबुझका साथ हस्तक्षेप बढाउनु पर्ने नयाँ परिस्थिति बन्दैछ। तर प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केदार कार्कीलाई गठबन्धनको मुख्यमन्त्री बनाएर एमालेलाई सबक सिकाउने रणनीतिमा देखिन्छन्। त्यसैले उनीहरूले शेखर कोइरालासँग कम्फर्टेवल गठबन्धन कायम राख्ने लिखित कबुलियतनामा गरेका हुन्।
यसबाट स्पष्ट हुन्छ, देउवा र प्रचण्ड अर्थात् कम्फर्टेवल गठबन्धन झट्केलो सन्तानबाट वंश जोगाउने विचार, नैतिक र चरित्रहीन राजनीतिमार्फत जनतामा असन्तुष्टि र वितृष्णा बढाएर यो राजनैतिक तथा संवैधानिक व्यवस्थामाथि प्रश्न उठाउन खोज्नेहरूलाई सहयोग गरिरहेका छन्। यो आजको यथार्थ हो। त्यसैले नेपाली काँग्रेसभित्रका लोकतान्त्रिक र गणतान्त्रिक चरित्र भएका नेता तथा कार्यकर्ता अनि शुभचिन्तकहरूले यतिबेलै सकारात्मक वैचारिक राजनीतिक हस्तक्षेप बढाएर परिस्थितिलाई व्यवस्था विरोधीहरूको मनोबल कमजोर बनाउने माहौल बनाउनु पर्छ। अन्टी र घण्टीबाट नेपाली काँग्रेस जोगाउन सक्नुपर्छ। अन्यथा लोकतान्त्रिक गणतन्त्रको दुरुपयोग अझ बढ्ने छ र नेपाली काँग्रेस आफैको अस्तित्व सङ्कटमा पनि पर्नेछ। गगनको गनगन, विश्वको गन्थन र शेखरको कोशी विद्रोहले अन्टी काँग्रेसहरू हतप्रभ र घण्टी काँग्रेसहरू उत्साहित भएका छन्।
नेपाली काँग्रेसमा विद्रोह गरेर भएता पनि आफू निकटका केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन सक्नु डा। शेखर कोइरालाको राजनीतिक चातुर्यता मान्न सकिन्छ। तर बिहीबार विद्रोह गर्दा उनले जुन भाष्य बनाउन खोजेका थिए, त्यो भने शनिवारको देउवा, प्रचण्ड र शेखरबिचको सहमति नामको कबुलियतनामाको चिर्कटोले उनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
हिजो नेकपा एमाले भत्काउन र फुटाउन प्रयोग गरेको सूत्र आज आफैमाथि प्रयोग हुन खोज्दा नेपाली काँग्रेसको मुख्य नेतृत्व त्यसको विरोधमा देखियो। जबकि त्यतिबेला एमालेमा माधव नेपालहरूको गद्दारीलाई ‘विद्रोह’ को उपमा दिएर एमाले फुटाउन काँग्रेसका सभापति शेरबहादुर देउवा नै सघाएका थिए। तर यतिबेला तिनै काँग्रेसीहरू नै कोशीमा ९ जना प्रदेश सांसदले लिएको निर्णयलाई विधि र पद्धतिविपरीत भन्दै त्यसको विरोध गर्दैछन्। वास्तवमा त्यसको विरोध गर्ने नैतिक अधिकार शेरबहादुर देउवा लगायतका नेताहरूलाई छैन।
नेपाली काँग्रेस र नेकपा एमालेको मुख्य नेतृत्वले बुझ्नुपर्छ, कोशी प्रदेशबाट नेपालको राष्ट्रिय राजनीतिमा नयाँ बाटो बनाउन सकिन्छ। यो नयाँ सम्भावनालाई भत्काउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरू लागेका छन्। राजनीतिमा असल सम्भावना खोज्न नसक्ने नेतृत्वका कारणले सायद कोशीले सिर्जना गरेको सम्भावना अवसर नभएर चुनौती पनि बन्न सक्छ। यसका बारेमा राजनीतिक नेतृत्व कति सचेत होलान्, अहिले नै यसै भन्न सक्ने अवस्था छैन।
यही अन्यौलताले आज प्राथमिक रूपमा चर्चा पाएको छ। त्यसैले त विचारहीन राजनीति अनि नैतिक र चरित्रहीन पात्रलाई अघि लगाएर गिर्जाघरको घण्टी बजाउँदै जनतालाई भ्रमित बनाउन र भावनात्मक भड्काउन सञ्चार र सञ्जालको प्रयोग भइरहेको छ। सञ्चार र सञ्जालमा त्यहीअनुसार लगानी आइरहेको छ। तर यसको आलोचना र विरोध हुन सकेको छैन। जसले जनताको मन अन्योलमा पर्न बाध्य भइरहेको छ। यो अन्योललाई अन्त्य गर्न एकातिर शिक्षालयबाट अभियान चलाउनु पर्छ भने अर्कातिर वैचारिक राजनीति बलियो बनाउनु पर्छ। अनि मात्र वंश जोगाउन झट्केलो सन्तानलाई आधार बनाउने प्रवृत्तिको राजनीति कमजोर बनाउन सकिन्छ।
प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १ : ४३ बजे
प्रतिक्रिया