खसी–बोकाको ज्वरो नाप्दै कागेश्वरी मनोहरा

काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले दसैँका लागि बाहिरबाट नगरपालिका भित्रिएका खसी–बोकाको स्वास्थ्य जाँच गर्न थालेको छ ।

घटस्थापनादेखि नवमीको दिनसम्म रोगी र निरोगी खसीबोका छुट्याउने काम थालेको नगरपालिकाका पशु सेवा प्राविधिक निरोज दंगालले जानकारी दिए ।  

केन्द्रीय पशु सेवा विभाग र पशु क्वारेन्टाइन बुढानिलकण्ठसँगको सहकार्यमा नगरपालिकाले खसीबजारमा गएर जिउँदो खसीको स्वास्थ्य परिक्षण गर्न थालेको हो । रोगी बिरामी खसी बोकालाई रातो चिन्ह लगाएर छुट्याउने गरेको र स्वस्थ खसीबोकालाई कुनै रङ नदिइने दंगालले बताए । 

रेविज लगायत पशुबाट पनि मानिसमा केही रोग सर्न सक्ने जोखिम रहेकोले दसैँका बेला विभिन्न ठाउँबाट भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण थालिएको उनले बताए । नगरपालिकाले घटस्थापनाका दिन वडा नम्बर ६ मुलपानी क्षेत्रका खसीबजारमा रहेका ६० भन्दा बढी खसीबोकाको स्वास्थ्य परिक्षण गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १ : ५८ बजे