यही वर्षमा १० वटा जहाज थप्छौँ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।

आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडवाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । उनले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए । 

पर्यटनमन्त्री किराँतीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे । उनले दसैँअघि नै  औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए । उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए ।

नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए ।  उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्ने कुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १२ : १९ बजे