साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दसैँ र तिहारबारे नेतृत्वले बुझ्नै पर्ने तथ्य   

१.भूमिका    

 कठोर श्रममय मानव  जीवनमा तन र मन दुवैको  रञ्जन अपरिहार्य हुन्छ । त्यसैले  चाडपर्व आदिम मानवले शारीरिक र मानसिक थकान  मेट्न सुरु गरेको देखिन्छ । यस्ता चाडपर्वको मूल उद्देश्य जीवनमा  पुनर्ताजगी प्राप्त गर्नु हो । चाडपर्वमा खाइने पौष्टिक आहारबाट शारीरिक सशक्तता र सबलता प्राप्त हुन्छ भने त्यस क्रममा हुने र गरिने  हुने नाच,गान र बजान आदिले मन पनि प्रफुल्लित हुन्छ । त्यसैले दसैँ र तिहार बारेका प्रगतिशील नवीन तथ्य एमाले नेतृत्वले नै पहिले बुझ्नु अपरिहार्य हुन्छ । किनकि सांस्कृतिक रूपान्तरणको पानी र बानी माथिबाट नै आउँछ र आउनु पर्छ । अब यस कालखण्डमा दसैँ चाहिँ बडा छोटा हैन हुँदैन र हुनु वा भन्नु हुन्न । 

    कृषि र पशु पालन लगायत श्रममय सबै कर्मका थकान मेट्नका लागि चाडपर्व  सुरु गरिएको हो ।  तथापि  तत्कालीन समाजको न्यून चेतनाका कारण  चाडपर्व सम्बन्धी कतिपय विषयमा ईश्वरीय अलौकिक शक्ति सम्मिश्रण हुन पुग्यो । जनताको यही कमजोरीलाई आधार बनाएर सामन्तवादले विभिन्न धार्मिक पौराणिक ग्रन्थ मार्फत आफ्नो नायक राजा,राजतन्त्रलाई ईश्वरका अवतारका रुपमा प्रस्तुत गर्न थाल्यो ।  विगत  तीन हजार वर्षदेखि पूजा,पाठ र पुराण आदिका आधारमा जनतालाई प्रशिक्षित ग¥यो । यसको परिणाम चाडपर्वहरुमा सामन्तवादी चरम रुढीवादी चिन्तन,चेत र चरित्र हाबी र प्रभावी मात्र होइन जन मनमा जब्बर हुन गयो ।  विशेषतः सनातन, हिन्दु वा कथित आर्य धार्मिक चाडपर्वहरुको ऐतिहासिकता तथा मौलिकता समाप्त प्राय पारियो ।   

२.दसैँको आरम्भ  र विकास  

  दसैँ लगायत चाड पर्व बालीनाली लगाउँदा,बाली हुर्किदा, बाली फल्दा र बाली घरमा ल्याएर थन्क्याई सके पछिका अवसरहरुमा खुसीयाली स्वरूप  मनाएको देखिन्छ । बेठी लगाउने, धान रोप्दा मनाइने राम रमितो र रमाइलो तथा  न्वागी यस्तै खालका पर्वहरू हुन्  । उभौली उँधौली किराँत,सुनुवार,राई,याक्खा जातिको महान् चाड,वसन्त ऋतुमा बालीनाली राम्रो होस् सुस्वास्थ्य  होस्, विपत्तिहरू  नआउन् भनी साकेवा,साखेवाशिली गर्दै नाच्दै प्रकृति पूजा ,कृषि युग सुरु भएपछि प्रचलनमा आएको पर्व , बाली लगाउने बेलादेखि अन्न बाली पाकिसकेपछि खुसीयाली मनाउँदै  वर्षमा दुई पटक बाली लगाउने र थन्क्याउने अवसरको यो चाड हो । यस पर्वमा खोरिया फाँडेको,अन्नबाली लगाएको र गोडमेल गरेको जस्ता कृषि कर्मजन्य नृत्य अभिनय गरिन्छ ।  

    दसैँ असोज शुल्क पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमा सम्म मनाइने पर्व हो । दसैँ कृषि कर्म र त्यसको समापन पछि उत्साह, खुसी र पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएको पर्व हो ।  समय क्रममा दसैँ दुर्गा देवीले राक्षस राज महिषासुरलाई वध गरेको,रामले रावणमाथि विजय गरेको जस्ता एउटा खास धर्म र संस्कृति करण गरिएको देखिन्छ । दसैँमा मानव समाजका प्राचीनतम पक्षहरू समाविष्ट छन् । दसैँलाई आयुध वा अस्त्र  पूजाका रूपमा  पनि लिइन्छ । यो मानव जीवनको प्रकृति र हिंस्रक जनावर सित लड्ने साधन हो । त्यसै गरी यस पर्वमा मातृ सत्ताको अवशेष स्वरूप दुर्गा पूजा रहेको मान्न सकिन्छ ।

२.१ रातो टीका र जमराको प्रयोग 

रातो टीकाको प्रयोग  सिकार,कन्दमूल र आहारका लागि आपसमा दुई कबिला पक्षका बीच भिडन्त हुँदा विजित पक्षले खुसीयाली स्वरूप हारेका, घाइते तथा मरेका कबिलाको रगत टीका लगाउने उपक्रम सीतै रातो टीका लगाउने उपक्रम सुरु भएको भनिन्छ ।   रङ्गको आविष्कार नभएकै अवस्थामा प्रकृति पूजकहरूले अक्षता निधारमा लगाएर दसैँ मनाए त्यसमा दही मिसाउँदा टीका अडिने हुँदा त्यसको प्रयोग गरियो ।  सर्व प्राचीन अन्नबाली   अन्न जौ  हो र यो  बाली परीक्षण स्वरुप  लगाएर त्यसको जमरा भरर उम्रिएको खुसीमा आदिम कृषकले जमरा कानमा  सिउरियो । 

   दसैँको रातो टीका विजय,शुभ र उत्साहको प्रतीक हो भने सेतो शुभ्रता र स्वच्छताको  प्रतीक हो । आदिवासी जनजातिले लगाउने दसैँको सेतो टीका यस्तै खालको प्रकृति पूजकहरूले लगाउने टीका हो । किनकि रङको आविष्कार,प्रयोग र व्यापकता धेरै पछि भएको हो । टीका त सौन्दर्य र शान्ति तथा समृद्धिको प्रतीक हो । अझ ऋषि मुनिहरुले लगाउने गरेको निधारमा चन्दनको टिका शीतलताको प्रतीक हो । राजतन्त्रात्मक मुलुक नेपालमा दसैँको पहिलो टिको राजालाई अर्पण गर्ने परम्परा समेत सुरु गरियो । राजालाई प्रदान गरिने टीका घरको मूल खाँबोमा पहिले लगाएर मात्र  परिवार जनले  टीका लगाउने लगाउने परम्परा थियो । त्यसैले दसैँ जस्ता पर्वहरूमा समय क्रममा भित्रिएका आजको समयका लागि अनुपयुक्त पक्षहरूलाई बिर्सिएर वा तिनलाई रूपान्तरण गरेर आम नेपालीको चाडका रूपमा विकसित गर्न जरुरी देखिन्छ । 

२.२ समावेशी दसैँ अपरिहार्य  

      सामन्तवादी संस्कृति हाबी हुनाले गर्दा  स्वास्थ्य मनोरञ्जन सहित पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएका पर्वमा अमुक एक धार्मिक, सामाजिक,साम्प्रदायिक र तथा सांस्कृतिक एकछत्र प्रभाव पारियो । 

तर आदि माता दुर्गा मात्र होइनन् र तिनको मात्र पूजा,भक्ति र श्रद्धा गरिने विषय एउटा अति हो,एक धर्म र संस्कृतिको प्रतीक हो । तर आदि माताको कुरा गर्दा हाम्रो जस्तो बहु सांस्कृतिक समाजमा धेरै समुदाय सित सम्बन्धित आदि माताहरू विद्यमान छन् । दुर्गा,युमा,सुम्निमा,पाथीभरा आदि  अनेक मातृ शक्ति नेपालमा रहेका छन् । ती सबलाई एउटै थलोमा राखेर वा तिनका प्रतीक निर्माण गरेर सामूहिक शोभा यात्रा र पूजा सहित  सबै नेपालीको चाडका रूपमा दसैँ मनाउन सकिन्छ । 

२.३ .दसैँ पर्वमा भित्रिएका विकृति 

दसैँ बारे अनेकन् भ्रमहरू अहिले पनि नेपाली समाजमा विद्यमान भएको पाइन्छ । यो पर्व खास समुदायको हो, आर्यले अनार्यलाई वध गरेको वा विजय गरेको र रातो टीका अनार्य वा राक्षसको रगतमा मुछिएको आदि आदि अफवाह व्याप्त देखिन्छ । तर यस्ता कुराहरू भ्रम तथा नेपाली समाजलाई विखण्डित बनाउने कुरा हुन् । रावण आफैँ ब्रह्माजीका मानस पुत्र,पुलस्त्य मुनिका नाति तथा शिवभक्त विद्वान् हुन् । तर उनी बलशाली पनि हुन् । अनि उनी कसरी दैत्य वा दानव वा राक्षस हुन् । यसै पनि दिति र अदिति नामका दुई दिदी बहिनीबाट जन्मिएका एक थरी आदित्य वा भगवान् र अर्का थरी दैत्य वा राक्षस भए ? यो गम्भीर प्रश्न हो । राक्षसको पर्यायवाची शब्द राकस हुन्छ । अर्थात् कर्मठ र काम गर्न रिपु वा दक्ष हुन्छ । यसैले यस्ता श्रमजीवी जनता धुस्रै फुस्रै,घामले डढेर कालो भएको  शरीरवाला हुन्छन् । राक्षस चाहिँ गरिखाने हुँदा खाने जस्ता लाग्छन् । यिनीहरू आफ्नै श्रम पसिनामा पाखुरीमा विश्वास गर्ने समुदाय लाग्छन् ।  देवता भनिने चाहिँ  हुनेखाने त बसी खाने वर्ग जस्ता लाग्छन् । तिब्बतलाई त्रिविष्ट वा स्वर्ग भनिन्छ । देवी देउता उच्च हिमाली क्षेत्रमा बसिखाने जाति जस्ता लाग्छन् । त्यसैले प्रायः उनीहरू गोरा सुकुमार देखिन्छन् । तर राक्षस भनिनेहरू  शारीरिक र भेष भूषाका स्वरूपले श्रमजीवी वर्ग  लाग्छन् । त्यसैले आर्य अनार्य, आदिवासी जनजाति र उपल्ला तहका मानव भन्ने  भ्रमपूर्ण सोचलाई परास्त गर्नुपर्छ । राक्षस वा अनार्यको बलि भन्ने अनि भारतमा झैँ रावणको पुतला बनाएर रामले निर्मम वध गरेको जस्ता धार्मिक तथा सामाजिक  सद्भाव भड्काउने काम गर्नै हुन्न ।  अब काम,क्रोध,हिंसा,लोभ र मोह जस्ता दुर्गुणको बलि दिने वा त्याग गर्ने कुरामा समाजलाई आकर्षित गर्नु पर्छ । हुने खानेले नहुने अवस्थाका बन्धु वर्गलाई कम्तीमा चाडबाडका अवसरमा भए पनि सकेको आर्थिक भौतिक सहयोग गर्ने संस्कृति पर्वहरुमा सुरु र विकसित गर्नुपर्छ ।       

२. युगान्तकारी पर्व तिहार     

    तिहार युगान्तकारी पर्व हो । एउटै आमाका सन्तानहरूका  बीच विवाह वा यौन सम्बन्ध गाँस्ने परिपाटी अन्त्य गरेको पर्व हो तिहार । यो पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया सम्म पाँच दिन मनाइने चाड हो । तिथि बार र त्यौहार हुँदै तिहार शब्द निर्मित तथा प्रचलित बनेको मानिन्छ । यो पर्व पनि कृषि कर्मको एउटा चरण पूरा गरेपछि पुनर्ताजगी प्राप्त गर्न मनाउन सु? गरिएको चाड हो । तर यसको मूल मर्म यो सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा अझै ओझेल परेको छ ।   मातृ प्रधान समाजमा यौन सम्बन्ध स्वच्छन्द थियो । एउटै माताका सन्तानहरूका बीच विवाह हुन्थ्यो तर मानव त नरपशु हो अर्थात् पशुमध्येको श्रेष्ठ पशु हो   । त्यसैले मानव  र मानव समाजले ढिलै भए पनि पशु वत् वृत्ति,व्यवहार र बेहोरालाई नियन्त्रित तथा अनुशासित ग¥यो ।  यही थिति बसाल्ने क्रममा मानव समाजले विवाह परम्परामा विधि,पद्धति र अनुशासनको खोज ग¥यो । सर्व प्राचीन वेद  ऋग्वेदमा यम यमी नाम गरेका जुम्ल्याहा दाजु बहिनीको संवाद छ । त्यहाँ दाजुसित तरुनी भएकी बहिनी यमीले यौन सम्बन्ध गाँस्ने प्रस्ताव राख्छिन् तर दाजु यमले तिमी यसका कामका लागि अर्कै पुरुष खोज अब आइन्दा यस्तो काम गर्नु हुँदैन भनेका छन् । त्यसै गरी उद्दालक ऋषिकी आमालाई बाबुकै अगाडि अर्को एक ऋषिले यौन चाहना पूर्ति गर्न तत्कालीन मान्यता अनुसार हात समाएर तान्न खोज्दा उद्दालक ऋषिले प्रतिवाद गर्दै यस्ता  रीत र प्रथा  गर्न पाइन्न भनेको देखिन्छ । उनै ऋषि पुत्रले  हरेक नारीले आफ्नो सत्मा बस्नुपर्छ भनेको देखिन्छ । प्रसिद्ध संस्कृतिविद् डा. जगमान गुरुङले १८९६ सालमा मुख्तियार रङ्गलालले पश्चिम नेपालको भ्रमण गर्दा त्यहाँ जैसी बाहुनहरूमा भान्जी अर्थात् फुपूकी छोरीसित मामाका छोराहरूले विवाह गर्ने प्रचलन विरुद्ध रुक्का वा आदेश पत्र जारी गरेको उल्लेख गरेका छन् । यस्ता अवशेषहरू नेपालमा अझै पनि पाइन्छ । कुमाईं बाहुन समाजमा सगोत्री विवाहको प्रचलन पाइन्छ । दक्षिण भारतमा अझै पनि भान्जी विवाह अर्थात् मामा चेला र फुपू चेली दाम्पत्य सम्बन्ध गाँस्ने प्रचलन रहेका बताइन्छ । नेपालका कतिपय जातिहरूमा अहिले पनि मामा चेला फुपू चेला सम्बन्ध गाँस्ने परम्परा रहेको देखिन्छ  ।

२.१ .तिहार जस्तै अरु तिहार  

तिहार जस्तै चेली माइती बीच  एक अर्कामा आत्मीय र अदरपूर्ण सम्बन्ध कायम गर्ने पर्व सामा चखेवा हो । यो चाड कात्तिक शुक्ल पञ्चमीदेखि ११ दिनसम्म मनाइन्छ  ।  यो पर्व  महोत्तरीलगायत मिथिला क्षेत्रमा मिथिला नारीले आफ्ना दाजुभाइको गुणगान गर्ने पर्व हो । समापनका दिन दाजुभाइलाई विभिन्न परिकार खुवाइन्छ । अनि दाजुभाइले दिदी बहिनीहरुलाई यथाशक्ति आर्थिक भौतिक जिन्सी उपहार स्वरुप प्रदान गरिन्छ ।  

    तिहार जस्तै दिदीबहिनी र दाजुभाइका बीचको आदर र सम्मानपूर्ण व्यवहार गर्ने पर्व  जितिया हो । यो पर्व पनि असोज कृष्ण पक्षको सप्तमीदेखि नवमी सम्म मनाइन्छ । राखी पर्व पनि तिहार वा भाइ टीकाकै अर्को रूप हो । चासोक ताङनाम मङ्सिर १९,२० र २१ गते चासोक माने न्वागी र तङनाम माने चाड भनेर मनाइने चाड हो । 

  अहिले पनि तिहारका अवसरमा यमराज वा धर्मराज बहिनी यमुनाका घरमा गएर टीका लगाएको प्रसङ्ग मात्र उल्लेख गरिन्छ । जब कि जगमान गुरुङले यम भनेको नियम पनि हो यो यौन सम्बन्धलाई थिति बसाल्ने विषयसित पनि सम्बन्धित छ भन्नु भएको छ । उहाँले बलि राज भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा बलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरे । अनि तिनै राजका समयमा द्यौता र द्यौताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटा वा केटी देवदास वा देव दासीका रूपमा परिचित भए । तिनलाई बलि राजाले अब देखि तिमीहरूले मागेर खानु वा जीविका गर्नु भनेको विषय सित तिहारको द्यौसी भैलो प्रचलनमा आएको भनाइ रहेको छ  । हुन पनि यस्तो प्रचलन त्यहीँ भारतको कुनै पनि प्रान्तमा नहुनुले पौराणिक कालको बली राजा नभएर नेपालको बलि राजाको प्रसङ्ग औचित्ययुक्त देखिन्छ ।   तिहारमा कुकुर,काग,गाई र गोरुको पूजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म,महत्त्व र पक्षहरूलाई उजागर गरेको छ ।   

   चासोक तङनाम चासोक न्वाँगी र तङ्नाम अर्थात् उत्सव लिम्बू लगायत चार किराँतीले पालाङ धान नाच, नाच्छन् चेलीबेटीहरू  कोसेली बोकेर माइत जान्छन् नाता नपर्नेहरू माया प्रीतिमा रमाउँछन् र हात समाइ नाच्छन् । यो पर्व प्रत्येक वर्ष मङ्सिर १९,२० र २१ गते मनाइन्छ । 

३.उपसंहार 

समग्रमा संसारका सबै चाडबाड पुनर्ताजगीका लागि आरम्भ अभ्यास गर्दै विकास गरिएका हुन् । अझ दसैँ जस्ता कृषि र तत्जन्य कठिन श्रम सङ्घर्षबाट थकित गलित तन र मनलाई पुनः ऊर्जा दिन श्रमिक जन समुदायले  सुरु गरेका हुन् । श्रम सङ्घर्ष भौतिक तथा बौद्धिक उत्पादन र  उपार्जन गर्ने महान् शक्ति हो । यसैको परिणति बौद्धिक सम्पदाका  रूपमा सुपरिचित कला साहित्य र संस्कृति हो । हलसारो वा हलेरो ,भूमि पूजा,ग्रा थानन पूजा,म्ह पूजा, आदि  सबै चाड र पर्वहरू  शारीरिक तथा मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएको स्पष्ट हुन्छ । यस मौलिकतालाई सामन्तीकरण गरी  धुमिल र ध्वस्त पार्ने परिपाटी उहिल्यैदेखि चलिआएको हुँदा यी पर्वहरूलाई अब परिवर्तित परिस्थिति अनुकूल बनाउनु अपरिहार्य देखिन्छ ।

चाडपर्व अन्तर्गत रहेका सर्व प्राचीन यथार्थ पक्ष र  परम्परा शिक्षाका लागि बिर्सन हुँदैन । समय क्रममा भित्रिएका अतिवादी र अन्धवादी धार्मिक र सांस्कृतिक परम्पराहरू हुबहु अवलम्बन गरेर चाडपर्वहरू आम नेपालीका लागि स्वीकार्य हुँदैनन् र तिनमा समय सापेक्ष रूपान्तरण गर्दै जानुपर्छ । संस्कृतिमा तत्कालीन राजनीतिको कुप्रभाव परेको हुन्छ । यस्ता कुप्रभाव अक्षरशः पालना गरेर गणतन्त्र सबल र सुदृढ हुन सक्तैन  र यसको समुन्नत संस्कृति निर्माण गर्ने कुरो त धेरै परको कुरा हुन्छ । 

 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : ०५ बजे