मनाङ एयरका पाइलटलाई भारत लगियो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लागिएको छ ।

सेढाईँको उपचार भइरहेको ह्याम्स अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो ।

अस्पतालका अनुसार शनिवार राति विमानमार्फत थप उपचारका लागि भारत लागिएको छ । हिजो बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो ।

उनको उपचार इमर्जेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखे छ । ‘उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ ।

उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ’, विज्ञप्तिमा भनिएको छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे