मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

काठमाडौं । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइँको उद्धार गरी अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेढाइँ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेढाइँ मात्र थिए । हेलिकप्टरमा आगलागी भएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ११ : १० बजे