इजरायलबाट २०० नेपाली अझै उद्धारको पर्खाइमा छन्

काठमाडौं । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका २५३ जना नेपाली विद्यार्थीकाे उद्धार भएसँगै बाँकी रहेका अन्य नेपालीले पनि आफूहरुलाई नेपाल फर्काउन नेपाली दूतावासमा आवेदन दिएका छन् ।

२०० जना नेपाली विद्यार्थीले नेपाल फर्कन तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका हुन् ।

“राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसनमा विवरण प्राप्त हुने क्रम जारी छ । जहाँ आज फर्काइएकाबाहेक नेपाल फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण रहेको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकहरूलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको छ,” इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । 

हमासकाे आक्रमणबाट १० नेपाली मारिएका थिए भने चारजना घाइते भएका थिए । एक नेपाली अझै सम्पर्कविहीन छन् । 

युद्ध चर्कदै गएपछि इजरायलमा रहेका नेपालीहरूले आफूहरूलाई स्वदेश फर्काउन सरकारसँग अनुरोध गरेका थिए । सोहीअनुसार सरकारले बिहीबार इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको थियो । 

बिहीबार इजरायलबाट २५३ नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्सको जहाज गएराति काठमाडौंमा अवतरण गरेको थियो । 

यसको अलवा अझै इजरायलमा २०० नेपाली उद्धारको पर्खाइमा रहेको दूतावासले जनाएको छ । उनीहरूलाई पनि छिट्टै नेपाल पठाउने तयारी गरिएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : १३ बजे