भारतीय प्रधानमन्त्री मोदी नेपाली भूमी लिपुलेक हुँदै कैलाश पर्वतमा (तस्वीरसहित)

​​​​​​​काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको चुच्चे नक्सामा समेटिएको नेपाली भूमि लिपुलेक हुँदै भारत-चीन सीमामा रहेको कैलाश पर्वतमा पुगेका छन् ।

उनी आज बिहान हेलिकोप्टर चढेर कालापानी क्षेत्रमा आएका हुन् । उनी लिपुलेक हुँदै भगवान शिवको घर मानिने कैलाश पर्वत पुगेका हुन् ।

नेपाली भूमी लिपुलेक आएका भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणका विषयमा भने नेपाललाई जानकारी दिइएकाे छैन ।

भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले पुष्टी गरिन् । 

माेदीले भारत-चीन सीमामा रहेको कैलाश पर्वत र पार्वती कुण्डको दर्शन गरी ध्यान र पूजा गरेका थिए । उनले पार्वती कुण्डमा पूजाका क्रममा डमरु र शंख पनि बजाएका थिए ।

मोदीले आजै पिथौरागढको गुन्जी गाउँ पुगेर त्यहाँका स्थानीयहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले पिथौरागढमा ग्रामीण विकास, सडक, बिजुली, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता क्षेत्रसँग सम्बन्धित करिब ४२ सय करोडको विकास परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

​​​​​​​

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १२ : ०४ बजे