इजरायलबाट आइपुगिन् सावित्रा भण्डारी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन्। व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी त्यहाँ द्वन्द्व बढेपछि स्वदेश फर्किएकी हुन्। 

उनी बुधबार राति नेपाल आइपुगेकी हुन्। मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेकी हुन्। 

साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छन्। गत साताको खेलमा सम्बाकै गोलबाट उनको टोली हारबाट जोगिएको थियो। 

चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन्। 

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहान आक्रमण गरेपछि इजरायल अहिले द्वन्द्वमा छ। हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : २८ बजे