विश्वकप फुटबल छनोट : नेपाल र लाओस भिड्दै

काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत पहिलो चरणको छनोट खेलमा आज बिहीबार घरेलु टोली नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंशालामा हुने खेल साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लाओसविरुद्ध खेलका लागि बुधबार २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् ।

होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ ।

यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताए । उनले विश्वकप छनोट चरणको खेललाई सफल बनाउन खेलप्रेमिहरुले साथ दिनुपर्ने उल्लेख गरे ।

नेपाली राष्ट्रिय फुटबल टोलीः

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ

मिडफिल्डरः एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : १५ बजे