श्रमजीवी पत्रकारको अधिकार रक्षाका लागि संघर्षमा जाने प्रेस चौतारी नेपालको घोषण

​​​​​​​काठमाडौं – प्रेस चौतारी नेपालले मिडिया सञ्चालकले श्रमजीवी पत्रकारलाई जथाभावी निकालेको भन्दै त्यस्ता कार्यको विरुद्ध सशक्त संघर्षमा जाने चेतावनी दिएको छ। 

चौतारी नेपालका महासचिव हिरामान लामाले बुधबार विज्ञप्ति जारी गर्दै  प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं श्रमजीवी पत्रकार सुमन ढुङ्गाना कार्यरत ग्यालेक्सी मिडिया प्रालिद्वारा सञ्चालित स्पेस फोरके टेलिभिजनले श्रम ऐन साथै विद्यमान करार सम्बन्धी ऐन विपरीत मौखिक रूपमा भदौ २७ गतेदेखि निष्कासन गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ। 

पत्रकार ढुङ्गानाले नेपाल बालसंगठन भित्रको अनियमितता र बाल संगठनका पदाधिकारी स्वयंले बालबालिकाको अहित हुने कार्य गरेको साथै प्रतिनिधि सभाका बहालवाला उपसभामुख विगतमा संलग्न रहेको संस्थाले समेत बालबालिकाको अहित हुने कार्य गरेकोबारे तत्कालीन नेपाल सरकारले बनाएको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको छानबिन प्रतिवेदन, नेपाल बाल संगठनको  वर्तमान नेतृत्वको आधिकारिक भनाई, बाल कल्याण परिषद्ले विभिन्न सरोकारवाला व्यक्तिसँग लिएको बयान लगायत अन्य प्रमाणका आधारमा आधारित रही कार्यक्रमको प्रोमो समेत प्रसारण भएको आम नागरिकले जानकार रहेको विषय भएको प्रेस चौतारीले जनाएको छ। ‘त्यसपछि एकाएक प्रसारण भएको प्रोमो हटाउने र कार्यक्रम निर्माण गर्न नदिने मनसायले मौखिक रूपमा पत्रकार ढुङ्गानालाई पदमुक्त गरेकोमा प्रेस चौतारी नेपाल घोर भर्त्सना गर्दै प्रेस स्वतन्त्रता विरोधी गतिविधिको भण्डाफोर गर्न अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक भइसकेको प्रोमो लगायतका प्रचार सामाग्रीका विषयलाई लिएर पत्रकार ढुङ्गानामाथि झुटा लाञ्छना लगाई स्वयम संस्थाले विज्ञप्ति जारी गर्दै ढुङ्गानाको निजी जीवनमा समेत प्रभाव पर्ने कार्य गरेको प्रेस चौतारीले जनाएको छ। संगठनले त्यस्ता कार्यको कडा रूपमा प्रतिवाद गर्दै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप विरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको जनाएको छ। 

श्रमजीवी र सक्रिय पत्रकारमाथि आइपरेका संकटमा मूकदर्शक नभई सशक्त आवाज उठाउन प्रेस चौतारीले सम्पूर्ण प्रेस जगत्, नागरिक समाज, पेसागत संघ संगठनलाई आह्वान समेत गरेको छ । 

श्रम ऐन साथै विद्यमान करार सम्बन्धी ऐन अनुसार पत्रकार ढुङ्गानाले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा तीन दिन भित्र उपलब्ध नगराए संगठनले श्रमजीवी पत्रकारको अधिकार रक्षाका लागि संघर्षका कार्यक्रम घोषणा गर्ने प्रेस चौतारी नेपालले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : ५३ बजे