इजरायलस्थित नेपाली दूतावासले भन्यो- विपिन जोशीको खोजी जारी छ

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी रहेको जनाएको छ ।

दूतावासले आक्रमणपछि सकुशल उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालमा खोजी गरिरहेको छ । दूतावासले बुधबार परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेको र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

विपिनको परिवारले चाँडो खोजी गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ । विपिन परिवारका एक्ला छोरा हुन् । विपिनकी एक बहिनी छिन् । विपिनका आमाबुवा शिक्षण पेसामा छन् । उनीहरू बैतडीको रिमबाट केही वर्षअघि भाँसीमा बसाइँ सरेका हुन् । आमा पदमा वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन्। बुवा मानदेव बझाङमा शिक्षण गर्छन् ।

आमा पद्मा र बहिनी पुष्पा मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् । छोरा सम्पर्कविहीन भएपछि बुवा मानदेव पनि अहिले भाँसी घरमा आइपुगेका छन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए । उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा परी मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ४९ बजे