एनपीएलको ट्रफी सार्वजनिक

सरकारले विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्ररुपमा काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्र विकास गरेको बताउनुभएको छ ।

बिहिबार अनलाइन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्याण्ड इन्फरमेसन सिस्टम’ तथा  ‘मेरो कित्ता’ को औपचारिक उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाललाई डिजिटलको युगमा लान सरकार लागि परेको बताउनुभयो ।

नेपाललाई प्रविधिको युगमा लानका लागि सकेसम्म आफ्नै प्रविधिको विकास गरिने र नभएका प्रविधिलाई अन्यत्रबाट ल्याएर भएपनि त्यो लक्ष्य पुरा गरिने प्रधानमन्त्रीले बताउनुभयो । ‘हाम्रा उद्देश्यहरू पुरा गर्नका लागि हामी नयाँ नयाँ प्रविधिको प्रयोग र विकास गर्नेछौँ । आफूले गर्न नसकेका प्रविधि आयात गरेर ल्याउँछौ ।’प्रधानमन्त्रीले बताउनुभयो । सरकारले लगानी र प्रविधिलाई आयात गर्न रुची राखेपनि अन्य कुरा आयात गर्न भने रुची नराख्ने बताउनुभयो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताउनुभयो   ।  

सरकार मुलुकको तीव्र विकाससँगै प्रविधिको प्रयोगमा समेत निकै अघि बढिसकेको बताउँदै प्रधानमन्त्री ओलीले एक वर्षमा सगरमाथाको उचाइ नापिनु, डिजिटल स्वाइल म्यापिङ्ग सिस्टमको सुरुवात हुनु र सोही एक वर्षमा डिजिटल ल्याण्ड म्यापिङ्ग सिस्टमको समेत विकास हुनुजस्ता कार्य महत्त्वपूर्ण कार्य भइरहेको बताउनुभयो । 

अपर तामाकोशी परियोजनामा  भएको ढिलाइ असाधारण 

प्रधानमन्त्री  ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वाभाविक ढिलाइ भएको बताउनुभएको छ  । अब यस्तो ढिलासुस्ती नसहने पनि उहाँले बताउनुभयो ।  ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नु छ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’ अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने प्रधानमन्त्रीले बताउनुभयो । 

सरकारले कडाइ नगरेको भए मेलम्चीको पानी पनि नआउने बताउँदै प्रधानमन्त्रीले  अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्ने बताउनुभयो । उचित कारण बिना हुने कुनैपनि  विलम्ब स्वीकार्य नहुने प्रधानमन्त्रीले बताउनुभयो । 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ३ : ०३ बजे