इजरायली बन्धकलाई मार्ने हमासकाे चेतावनी

एजेन्सी । इजरायलले हमाससँग चलिरहेको द्वन्द्वमा 'अगणित शक्ति' प्रयोग गरी पराजित गर्ने बताएको छ।

गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका छन्।

सोमबार जारी गरिएको अडियो बयानमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, "हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनी बिना उनीहरूको घरको सुरक्षामा निशाना बनाइयो भने, हामी हाम्रा शत्रु (इजरायल) को बन्धकहरूलाई मार्नेछौं।"

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणप्रति आफ्नो देशको प्रतिक्रियालाई ‘सुरुवात मात्र’ भनेका थिए ।

उनले भनेका थिए, "यो त शुरुवात हो। हामी सबै तिम्रो साथमा छौँ। बलको आधारमा उनीहरूलाई पराजित गर्नेछौँ। हामी अपार शक्ति प्रयोग गर्नेछौँ। मध्यपूर्वलाई परिवर्तन गर्नेछौँ।"

कतारले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गरिरहेको समाचार बाहिर आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १३ बजे