इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र- हाम्रो आत्मबल सकिँदैछ,आफ्नै देशमा फर्काइदिनुस्

काठमाडाैँ । इजरायल र हमासबीचको युद्धमा फसेका एक नेपाली विद्यार्थीले आफूहरूलाई तत्कालै नेपाल फर्काइदिन आग्रह गरेका छन् । प्रधानमन्त्रीका नाममा एक पत्र लेख्दै उनले आफूहरू बंकरमा भोकभोकै बसिरहेको बताएका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका– २ का सुरज भण्डारीले आज २२ गते प्रधानमन्त्रीका नाममा पत्र लेखेका हुन् । यो पत्र उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

आफ्ना १० सहपाठीको निधनले स्तब्ध भएको भन्दै भण्डारीले देश फर्किन आतुर भएको लेखेका छन् । भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक अध्ययनरत छन् । उनी पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत गत महिना मात्र इजरायल पुगेका थिए । 

उनले लेखेका छन्, ‘आकाशमा चरा उडेको देखेको हामीले आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफूअगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ । बंकरमा लुक्यो भन्ने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ ।’

सरकार र प्रधानमन्त्रीको भरोसामा आफूले पत्र लेखेको भण्डारीले बताएका छन् । 

हेर्नुहोस् भण्डारीले लेखेको पत्र ।

श्रीमान् प्रधानमन्त्रीज्यू, 
नेपाल सरकार

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिन लागेका विद्यार्थी (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्द्वकाे चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ । हामी मानसिक तनावमा पुग्न आटिसकेका छौँ । अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामीले आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफूअगाडि बन्दुक पड्किराखेकाे देखेर त्रसित छौँ । बंकरमा लुक्यो भन्ने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले हाम्राे छाति चिरिएको छ । हामी स्तब्ध छौँ । हमलामा परियाे भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामी खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शाैचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ । 

आदरणीय प्रधान‌मन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो । भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् । हामी देशमा नै रमाउने छौँ ।

हामी नेपालको तीन वटा विश्वविद्यालयबाट यहाँ छौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय

सगै यहाँ अन्य विद्यार्थी र नेपाली नागरिक हुनुहुन्छ । छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीकाे प्रत्याभूति तपाईंले अवश्य गराउनुहुनेछ, यो हाम्रो तपाईंप्रतिको विश्वास हो । यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।

(युद्धको चपेटामा परेको नेपाली)
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)
– Kadesh Barnea, Israel
(नेपाली ठेगाना)
अन्नपूर्ण गाउँपालिका- २
कास्की)

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ५४ बजे