हमासको आक्रमणबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघ्याे,संगीत महोत्सवस्थलमै भेटिए २६० शव

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेहरूको संख्या एक हजार नाघेको छ । हमलापछि हमासका लडाकुले एक सयभन्दा धेरै मानिसको अपहरण गरेको अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ ।

‘मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरिएको छ, अपहरण गरी गाजातिर लगिएका सयभन्दा बढी मानिसको भाग्य अहिले पनि प्रस्ट छैन’, समाचारमा भनिएको छ । 

हमास र इस्लामिक जिहादले करिब १ सय ३० इजरायलीलाई बन्धक बनाएको दाबी गरेका छन् । आफ्ना कब्जामा सेनाका उच्च अधिकारीसमेत रहेको हमासले बताएको छ । 

अभूतपूर्व मानिएको आक्रमणमा हमासले दक्षिणी इजरायलका २२ ठाउँमा शनिबार बिहानै हमला गरेको थियाे ।  इजरायलतर्फ अहिलेसम्म २२ सय घाइतेको पहिचान भएको छ ।

इजरायलले आइतबार औपचारिकरूपमा युद्धको घोषणा गरिसकेको छ । 

आक्रमणको ३६ घण्टापछि पनि हानाहान जारी छ । इजरायलले गाजापट्टीमा ठूलै आक्रमण गरेको छ, जसमा सयौं मारिएका छन् ।  इजरायलको आक्रमणमा मारिनेको संख्या पनि ५ सय नाघिसकेको बताइएको छ । यसमा सयौं घाइते भएका छन् ।

संगीत महोत्सव गरिएको स्थानबाट २६० शव निकालियाे

इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।

संगीत महोत्सवमा शुक्रबार राति अबेरसम्म मानिसहरू नाचेर रमाइरहेका थिए । तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि कोलाहल मच्चिएको थियो । गोलीबाट बच्न मानिसहरू खुल्ला स्थानमा कुदिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । महोत्सवबाट थुप्रै व्यक्तिहरूलाई अपहरण गरेर हमास लडाकुले बन्धक बनाएका छन् ।

संगीत महोत्सव भएको क्षेत्र गाजासँगको बोर्डर नजिक पर्छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ३६ बजे