दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सासूको हत्या गरी भकारीमा शव लुकाउने वुहारी पक्राउ,सामान्य विवाद यसरी भएकाे थियाे हत्या

सल्यान। सल्यानमा सासूको हत्यापछि शव धानको भकारीमा लुकाउने वुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

शिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ४९ वर्षीया गणेशी रोका वेपत्ता भएको तीन दिनपछि शव असोज १७ गते घरभित्रै धान राख्ने काठको भकारीमा फेला परेको थियो। असोज १५ गतेदेखि बेपत्ता भनिएकी गणेशीको हत्या उनकै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीले गरेको प्रहरीको अनुशन्धानले देखाएको छ।

उनलाई असोज १९ गते बेलुकी ६ बजेतिर प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सल्यानबाट सात दिन म्याद थप गराई अनुशन्धान गरिरहेको छ। सामान्य भनाभनको विषयलाई लिएर बुहारी शर्मिलाले घरमा कोही नभएको मौका छोपी सासूको हत्या गरेको प्रहरीको निस्कर्ष छ।

शर्मिलाले दाउराले टाउकोमा हानी लडाएपछि सलले घाँटी थिचेर गणेशीको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए। कारवाहीबाट जोगिन उनले धानको भकारीभित्र शव लुकाएर राखेको कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार असोज १५ गते बिहान शर्मिला र उनकी सासू गणेशीबीच धान माड्न खेतमा गएका बेला भनाभन भएको थियो। सोही दिन दिउँसो पनि उनीहरुबीच विवाद भयो। घर फर्किएपछि तेस्रो पटक पनि विवाद भएपछि शर्मिलाले दाउराले सासूलाई टाउकोमा प्रहार गरेको अनुशन्धानमा संलग्न एक प्रहरी अधिकृतले वताए।

उनी लडेर छटपटाउन थालेपछि गणेशीकै टाउकोमा बाँधेको सल निकालेर घाँटीमा कसेर हत्या गरेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ। त्यसपछि उनले घरको तल्लो तलाको धान राख्न बनाइएको काठको भकारीमा शव लुकाएको अनुशन्धान अधिकृतले वताए।

शर्मिलाले आफ्ना श्रीमान (गणेशीका कान्छा छोरा अमर) र नन्द आउँदा सासू बिहान मकै बारीतिर गएको र फर्किएर नआएको भनेर घटना लुकाउन खोजेकी थिइन्। तर, घरभित्र बाटै गन्ध आउन थालेपछि गणेशीको शव फेला परेको थियो। 

प्रहरीका अनुसार गत वैशाखमा मात्रै वनगाड कपिन्डे नगरपालिका–९ सेराकी शर्मिला र अमरले प्रेम विवाह गरेका थिए।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : २२ बजे