दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सरकारले भन्यो- इजरायलमा केही नेपाली हताहत भएका हुन सक्छन्

सरकारले इजरायलमा केही नेपाली हताहत भएको हुन सक्ने बताएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि इजरायलमा केही नेपाली हताहत भएको हुन सक्ने बताएका हुन् । परराष्ट्रमन्त्री साउदले १७ जना नेपालीमध्ये दुई जना सकुशल रहेको बताए । उनका अनुसार तीन  जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने उनले बताए । परराष्ट्रमन्त्री साउदले स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताए । उनले इजरायलमा भएको घटनालाई सरकारले गम्भीरताका साथ लिएको बताए । इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् ।

२६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एन्ड अर्न कार्यक्रम’ अन्तर्गत गएकामध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेको उनले बताए । सम्पर्कविहीन हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरू रहेको उनको भनाइ छ । 

मन्त्री साउदले आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने जानकारी दिए । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ३३ बजे