खुल्ला आकाशमुनि रात काट्दै बझाङका भूकम्प पीडित,वर्षाले बिल्लिबाठ

कैलाली । वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ । मङ्गलवार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । भूकम्पका कारण बझाङका धेरै घरहरू चर्किएका र केही भत्किएका छन् ।

फेरि भूकम्प आउने डरले पीडितहरूले खेतबारी र चौरमा पाल टाँगेर रात बिताइरहेका छन् । केहीले भने प्लास्टिकले बेरबार पारेर रात कटाएका छन् । बझाङमा शनिवार साँझ ६ बजे देखि निरन्तर पानी परिरहेको छ ।

वर्षाका कारण भूकम्प पीडित थप प्रभावित भएका छन् । सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिका लगायत अन्य स्थानिय तहका केहि भूकम्प प्रभावित क्षेत्रमा वर्षाले कठ्याङ्ग्रिँदो चिसो छ ।

जयपृथ्वी नगरपालिका–१ कैलाशका रामराज बहादुर सिंहले भूकम्पले घर चर्काएपछि खुल्ला आस मुनी बस्ने गरेको भए पनि पानी परेर आज बिचल्लीमा पारेको बताए ।

उनले भने, ‘साना केटाकेटी छन् । भित्र जाऊँ भूकम्पको डर बाहिर जाऊँ पानी परेर बस्ने अवस्था नै छैन ।’

यता थलारा गाउँपालिका–९ की पारु थापाले भनिन्,‘त्रिपाल भित्र पानी पसेर बस्ने नहुने बनाएको छ । बच्चालाई चिसो लाग्ने डर छुट्टै छ । भूकम्प र पानीले बिचल्लीमा पार्‍यो ।’

यस्तै जिल्ला प्रशासन कार्यालय बझाङले आज देखि भूकम्प पीडितहरूलाई संकलन भएको राहत सामाग्री एकद्वार प्रणालीबाट वितरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय बझाङका कम्प्युटर अपरेटर नन्द धामीले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : २८ बजे