जितिया पर्वले आपसी सद्‌भाव बढाई राष्ट्रिय एकतालाई सुदृढ बनाउने पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्व अवसरमा सुख, शान्ति,सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

जितिया पर्वकाे अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सम्पूर्ण नेपालीहरुकाे सुस्वास्थ्य र दीर्घायुकाे कामना गर्नुभएकाे हाे । 

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ‘जितिया पर्व नेपालका मधेसी तथा थारु समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुखशान्ति तथा समृद्धिको कामना गर्दै मनाइने एक महत्त्वपूर्ण लोक पर्व हो । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेसी तथा थारु महिलाहरूले निर्जला व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग जितीया पर्व मनाउने परम्परा रहेको छ । यो व्रत बस्नाले सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने जनविश्वास प्राचिनकालदेखि रहँदै आएको छ ।’

नेपालीहरुकाे मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका चाडपर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानुपर्ने उहाँको भनाई छ ।

यस्तै पूर्वराष्ट्रपति भण्डारीले निराहार एवं निर्जला कठोर व्रत बस्दा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याका बारेमा ख्याल राख्न  आग्रह गर्नुभएकाे छ । 

यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उहाँले विश्वास छ ।

हिन्दु पात्रोअनुसार असोज कृष्णपक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज बिहान पूरा हुन लागेको हो ।

ज्योतिष शास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवित पुत्रिका व्रत पनि भनिन्छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ११ : ५९ बजे