विश्वकप क्रिकेटः पाकिस्तानद्वारा नेदरल्यान्ड्स ८१ रनले पराजित

काठमाडौँ – भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

हैदराबादमा भएको दिवारात्रि खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २८७ रनको चुनौतीपूर्ण लक्ष दिएको थियो । पाकिस्तानका माथिल्लो क्रमका तीन ब्याट्सम्यान सस्तैमा बाहिरिए पनि मोहम्मद रिज्वानले ६८ तथा साउद शकिलले पनि ६८ रनको योगदान गरेपछि टिमले सम्मानजनक स्कोर खडा गरेको थियो ।

अन्य ब्याट्सम्यान मोहम्मद नवाजले ३९ तथा शादाब खानले ३२ रनको महत्वपूर्ण पालि खेलेका थिए ।

नेदरल्यान्ड्सका बास डी लीडले ४ विकेट लिएका थिए । साथै कोलिन एकरम्यानले २, आर्यन दत्त, लोगान भान बीक र पल भिकेरेनले समान एकएक विकेट लिएका थिए ।

जवाफमा नेदरल्यान्ड्सको टिम ४१ ओभरमा २०५ रन बनाउँदै अलआउट भएको थियो । विक्रम सिंहले ५२, बास डी लीडले ६७ रन बनाए पनि नेदरल्यान्ड्सका ब्याट्सम्यानहरू नियमित अन्तरालमा बाहिरिए पछि पाकिस्तानले प्रस्तुत गरेको चुनाैती चुम्न असफल भएको थियो ।

यो जितसँगै पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ३४ बजे