गुन्डा नाइके रिगलको आममाफीविरुद्ध अनसन बसेकी भारतीलाई समर्थन गर्न पुगेका ५ जना पक्राउ

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा गुन्डा नाइके योगराज ढकाल उर्फ रिगललाई आममाफी दिएको विरोधमा अनसनरत चेतनकी पत्नी भारती शेर्पालाई समर्थन गर्न पुगेका पाँच युवालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीको अनसनलाई समर्थन जनाउँदै माइतीघर पुगेका सोम शर्मासहित ५ जनालाई पक्राउ गरेको हो ।

भारतीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका शर्माले युट्युबरलाई अन्तवार्ता दिँदै ‘दोषीलाई आममाफी दिने राष्ट्रपतिलाई शीतल निवासबाट निकालेर सडकमा घिसार्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

शर्मासँगै यादव सिंह, उद्धव वस्नेत, जेनीशा बोहरा र असनन बसेका आषिस मल्ललाई पनि प्रहरीले पक्राउ गरेर सिंहदबार वृत्त लगेको छ । रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

  

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ४४ बजे