उडुस आतङ्कले हैरान फ्रान्स : जनतासँग सरकारले माग्यो माफी

काठमाडौँ । फ्रान्सको राजधानी प्यारिसलगायतका सहरहरूमा उडुस आतङ्क मच्चिएको छ । 

राजधानी पेरिसका बजार,रेल, सिनेमा घर,विमानस्थल र अस्पतालमा उडुसको आतङ्क मच्चिएपछि अन्तर्राष्ट्रिय माध्यममा यस विषयले विशेष रुपमा प्रवेश पाएको छ । 

गर्मी याममा मानिसले पेरिसस्थित सिनेमा घरका सिटमा उडुस फैलिएको भिडियो पोस्ट गर्दै गुनासो गर्न थालेका थिए । उनीहरूले शरीरमा उडुसले टोकेका तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यसपछि रगत चुस्ने परजीवी कीराको प्रकोप मुलुकभर फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वीवीसीका अनुसार उडुसको प्रकोप बढेपछि आगामी वर्ष आयोजना हुन लागेको ओलम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न उठ्न थालेको छ।

स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यसबारे विवरणहरू प्रकाशित भएका छन्।

विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ। फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको पाइन्छ।

‘प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या बढेको देख्छौँ’,मार्सेको मुख्य अस्पतालमा कार्यरत कीटविज्ञ जाँ-मिशेल बेरेन्जर भन्छन्।

सिनेमा घरमा पनि उडुस फेला पर्न थालेपछि यसलाई गम्भीरता साथ लिइएको अधिकारीहरूले बताएका छन् । पेरिसको युजीसी बर्सी सिनेमाले दर्शकले उडुसले टोकेको गुनासो गर्न थालेपछि माफी मागेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सञ्चालकले उडुसले टोकेका सबै पीडितप्रति माफी मागेका हुन् ।

यसका लागि हल सञ्चालकले उडुसलाई मार्न कीटनाशक औषधि प्रयोग गर्ने, उच्च तापक्रम भएको पानी छर्किने जस्ता उपाय अपनाइरहेका छन् । प्रकोप फैलिएको फोटो भिडियो इन्टरनेटमा फैलिन थालेपछि पेरिसका फिल्म हलले दर्शक गिरावटको सामना गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कसरी बढ्यो उडुसको प्रकोप

विगत दुई-तीन दशकदेखि उडुसको प्रकोप पुनः देखा पर्न थालेको हो। तर त्यो समस्या फ्रान्समा मात्र सीमित नभई अन्यत्र पनि छ।

उडुस फैलिनुमा विभिन्न कारक तत्त्वहरू छन्। तीमध्ये विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग गरी हुने व्यापर , पर्यटन र आप्रवासनजस्ता गतिविधि प्रमुख छन्।

उडुस मानिस भएका ठाउँमा बस्न रुचाउँछ। मानिस जहाँ जान्छ यो कीरा पनि त्यहीँ जान्छ। मौसमले यसलाई खासै ठूलो प्रभाव पार्दैन।

दोस्रो विश्वयुद्धपछि डीडीटी नामक विषादीको व्यापक प्रयोग भएको हुनाले उडुसको सङ्ख्या ह्वात्तै घटेको थियो। तर पछि मानिसमा पार्ने दुष्प्रभावका कारण डीडीटी र अरू रासायनिक कीटनाशक विषादीको प्रयोगमा रोक लगाइयो।

रासायनिक विषादीको प्रयोगका कारण केही कीराहरू मासिएपछि उडुसको सङ्ख्यामा ठूलो परिवर्तन आयो। अहिले देखिने धेरै कीराहरूको प्रतिरोध क्षमता डीडीटीको प्रभाव खेप्ने आफ्ना पूर्वजको भन्दा बढी छ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ४ : ५८ बजे