दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाकिस्तान र अजरबैजनीका दुई नागरिक पक्राउ

काठमाडौं । प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

उनका अनुसार पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी वर्कपर्मिटलगायतका नक्कली कागजात देखाएर विश्वासमा पारी ठगी गर्ने योजना बनाइएको थियो ।

जाहेरीका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ठमेलमा रहेको होटेल यात्री र डड्डी सुइट्स एण्ड स्पाको कोठा नम्बर ३०४ र ३१४ बाट पक्राउ गरिएकाे हो ।

उनीहरूले प्रोसेसिङ गर्नका लागि प्रतिव्यक्ति १ लाख ३३ हजार रूपैयाँ लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको गरी करिब ८० लाख रूपैयाँ बराबरको रकम ठगी गरेको र पीडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : २२ बजे