दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

बुद्धचित्त मालामा कमिशन नपाएपछि मन्त्रीका भाइ र सालोले गरे व्यापारीको अपहरण

काठमाडौं। एक व्यापारीलाई अपहरण गरेको आरोपमा सोमबार पक्राउ परेका दुईजनामध्ये एक जना वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थ लामाका भाइ र अर्काे सालाे भएको खुलेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–६ घर भएका भोज लामा उर्फ भोजे र तेमाल गाउँपालिका–५ घर भएका ३६ वर्षीय आशालाल लामा छन् ।

प्रहरीका अनुसार, पक्राउ परेका भोजबहादुर वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थ लामाका भाइ हुन् भने आशलाल नाताले साला पर्छन् । भोजबहादुर तिर्थ लामाका ठूलोबुबाका छोरा हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले व्यापारीलाई बन्धक बनाएको आरोपमा लामाद्वयलाई पक्राउ गरिएको पुष्टी गरे । आरोपितहरु विरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए । आरोपितहरू विरुद्ध प्रहरी वृत्त महाराजगन्जबाट मुद्दा चलाइएको छ ।

लामाद्वयले बुद्धचित्त मालाको कमिसनबारे विवाद हुँदा भक्तपुरको थिमीबाट काभ्रेकै तेमाल गाउँपालिका–८ घर भएका देव सिंह तामाङ अपहरण गरेका थिए । सोमबार साँझ अपहरित युवकलाई नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’बाट प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर राजन ढकाल नेतृत्वको टिमले अपहरण मुक्त गरेको थियो ।

भक्तपुरस्थित थिमिबाट बा.२ ज २६७३ नम्बरको ट्याक्सीमा राखेर आरोपितहरूले युवकलाई मुलपानी, बौद्ध र चाबहिल हुँदै सामाखुसीमा पुर्याएका थिए । गोङ्गबु नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ मा बन्धक बनाएर आरोपितहरूले कुटपिट गरेपछि पीडितका आफन्तले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । बुद्धचित्त मालाको कमिसनबारे विवाद भएपछि देव सिंहलाई अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आपराधिक पृष्ठभूमी भएका भोजबहादुर यस अघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । भोजबहादुरलाई एक साता अघि ठमेलको एक क्लवमा कुटिपीट गरेको आरोपमा दरबारमार्ग प्रहरीले पक्राउ गरेको थियो । तर, मन्त्री तिर्थ लामाले तुरुन्तै प्रहरीलाई दबाब दिएर छुटाएका थिए । त्यसो त झण्डै दुई महिना अघि पनि ७० लाख ठगी गरेको आरोपमा भोजबहादुर पक्राउ परेका थिए ।

सशस्त्र प्रहरी एक महिला जवानले ‘मिसन पठाइदिन्छु भन्दै लामाले ७० लाख लिएको’ व्यहोराको उजुरी प्रहरीमा दिएपछि लामा पक्राउ परेका थिए । त्यसबेला पनि उनी एक रात दरबारमार्ग प्रहरीमा बसेर पीडितको पैसा फिर्ता गरी मन्त्रीकै दबाबमा छुटेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : ०३ बजे