सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

धरान ।  नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्री निवासाचार्य  (दिनेश पण्डित) लाई  सुनसरीबाट  धनुषा जिल्ला पठाइएको छ ।

केहि दिनअघि जनकपुरमा गाई काट्ने व्यक्तिको हत्या गरी आउने जो-सुकैको परिवारलाई लालनपालन र जेलमा समेत संरक्षण गर्ने अभिव्यक्ति दिएका उनलाई  सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको थियो । 

सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी एरियाबाट पक्राउ परेका श्रीनिवासलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको सुनसरीका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले बताए । उनले   धुनाषा प्रहरीको आग्रहमा श्री निवासाचार्यलाई पक्राउ गरिएको बताए । 

धरानलगायतका स्थानमा गाई काटेर भोज खाएको भीडीयो सार्वजनिक भएपछि उनले हिन्दु धर्म र गाईको रक्षाको आवाज उठाउँदै आएका थिए । गाईको रक्षा र गाई काट्नेलाई त्यसैगरी मान्छे  काट्न निर्देशन दिएर सामाजिक सद्भाव भड्काउन खोजेको आरोपमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनलाई धनुषा प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिएको छ । श्रीनिवास बिराटनगरमा आफैले गोली हान्न लगाएर विवादमा आएका धर्म गुरु हुन् ।

यसअघि हातहतियार खरखजना ऎनअन्तर्गत  मुद्दा खेपेका उनी जिल्ला अदालत मोरङको आदेशमा  धरौटीमा  छुटेपछि झन् विवादास्पद क्रियाकलाप गर्दै आएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : ५३ बजे