वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाडौं । चर्चित वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । विगत लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति साढे ९ बजे भारतको सिलगढीमा ८४ वर्षको उमेरमा निधन भएको हो ।

उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् ।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन् । उनी गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन हुन् ।

‘मेलोडी मुन’ उपमाले परिचित दिलमायाले देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कार प्राप्त गरेकी थिइन् ।

लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् । उनले १५० भन्दा बढी नेपाली गीतमा स्वर दिएकी छिन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : ५२ बजे