भारतले क्यानडालाई भन्यो– सात दिनभित्र आफ्ना ४१ कूटनीतिज्ञ घर फर्काउनू

नयाँ दिल्ली । भारत र क्यानडाबीचको कूटनीतिक विवाद चरम उत्कर्षमा पुगेको छ । फाइनान्सियल टाइम्सका अनुसार भारतले क्यानडालाई अक्टोबर १० सम्ममा ४१ कूटनीतिज्ञहरूलाई स्वदेश फिर्ता गर्नुपर्ने बताएको छ ।

भारतीय मूलका क्यानडेली नागरिक साथै सिख पृथकतावादी नेतासमेत रहेका हरदीप सिंह निज्जरको हत्या भएपछि भारत र क्यानडाबीच कूटनीतिक विवाद सुरु भएको थियो ।

क्यानडाले निज्जर हत्यामा भारतको संलग्नता देखिएको बताएपछि उसले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । जवाफमा भारतले पनि एक क्यानडेली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

क्यानडाको ब्रिटिश कोलम्बियामा गत जुनमा निज्जरको हत्या भएको थियो । क्यानडाले निज्जर हत्यामा भारतीय सरकारी एजेन्टको भूमिका रहेको बताएपछि यतिबेला भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । यस्तोमा भारतले यतिबेला फेरि क्यानडालाई ४१ क्यानडेली कूटनीज्ञलाई स्वदेश फर्काउन भनेको हो ।  

निज्जरको नामा भारतमा आतंकवादीको सूचीमा थियो । उनी खालिस्तान आन्दोलनको पनि कट्टर समर्थक थिए । खालिस्तान आन्दोलन भारतीय राज्य पञ्जाव उक्त देशबाट छुट्याउने अभियानसँग सम्बन्धित छ ।  

भारतमा क्यानडाका ६२ कूटनीतिज्ञ छन् र भारतले कुल ४१ घटाउनुपर्ने फाइनान्सियल टाइम्सले जनाएको छ । भारत र क्यानडाका विदेश मन्त्रालयहरूले यस प्रतिवेदनमा तुरुन्तै प्रतिक्रिया जनाएका छैनन्।

भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले यसअघि क्यानडामा भारतीय कूटनीतिज्ञहरू विरुद्ध हिंसाको वातावरण र धम्कीको वातावरण रहेको बताएका थिए । क्यानडामा सिख पृथकतावादी समूहहरूको उपस्थितिले नयाँ दिल्लीलाई निराश बनाएको छ ।

क्यानडा ७ लाख ७० हजार सिखहरूको घर हो, उत्तरी भारतीय राज्य पञ्जाब बाहिर यो नै सबैभन्दा बढी जनसंख्या हो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ५५ बजे