मणिपाल अस्पतालबाट ८ दिनपछि उठ्यो सुकमायाको शव, अस्पताल तोडफोड गर्ने थप एक जना पक्राउ

कास्की । बिरामीको मृत्युको विषयलाई लिएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्युभएपछि अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए । अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई गरेको हो ।

भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजी जारी रहेको कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाले जानकारी दिए ।

गत असोज ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै मृतकका आफन्तीले डाक्टर अनिल शाहमाथि हातपात गरेका थिए। सो घटनापश्चात् चिकित्सकको सुरक्षाको माग गर्दै देशैभरिका डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए।

यस्तै, आज मंगलबार आफन्तीले ८ दिनपछि सुकमायाको शव बुझेका छन् । अस्पताल र मृतकका आफन्तबीच सहमति भएपनि उनीहरुले पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै शव बुझेका थिएनन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : १२ बजे