भोजपुरमा एम्बुलेन्स र बोलेरो ठोक्किँदा तीन घाइते

भोजपुर। एम्बुलेन्स र बोलेरो गाडी मध्य पहाडी राजमार्ग अन्तर्गत भोजपुरको जरायोटारमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।                               

जिल्लाको पुर्वी अरुण गाउँपालिका वडा नम्बर ६, जरायोटारको माझीटारमा पौवादुङमा गाउँपालिकाले सञ्चालन गरेको को १ झ ६६३ नम्बरको एम्बुलेन्स र को १ ज ३१६२ नम्बरको बोलेर गाडी पौने पाँच बजेतिर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

दुर्घटनामा परी एम्बुलेन्समा सवार पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष २५ का पदम खत्रीको टाउको र अनुहारमा चोट लागि उपचारको लागि धरान पठाइएको छ । एम्बुलेन्समा तीन जना थिए । यस्तै बोलेरोमा छ जना सवार रहेकोमा षडानन्द नगरपालिका १० का ५२ वर्षीय हेमराज तामाङको आँखी भौँ माथि चोट लागेको र सोही नगरपालिका १३ का घाइते ४१ वर्षीय दान बहादुर तामाङलाई उपचारका लागि स्थानीय मेडिकल लेगुवा पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो । 

  एम्बुलेन्स चालक पौवादुङमा गाउँपालिका ५ का दिनेश खड्का र बोलेरो चालक  धनकुटा सहिद भूमि गाउँपालिका ६ का राजेश राईलाई प्रहरी चौकी जरायोटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राईले बताउनुभयो । सवारी साधन घटनास्थलमा नै रहेका र सडक अवरोध नभएको प्रहरीले जनाएको छ । 

दुर्घटनाको जानकारी पाउन साथ जरायोटार प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक संजय कुमार माझीको कमाण्डमा ४ जनाको टोली खटिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : १७ बजे