नेपालविरुद्ध उत्रनुअघि भारतका प्रशिक्षकको प्रतिक्रिया– यो ठूलो अवसर हो

काठमाडाैँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक भीभीएस लक्ष्मणले एसियाली खेलकुद आफ्ना खेलाडीका लागि ठूलो अवसर र गर्वको विषय भएको बताएका छन् ।

नेपालविरुद्ध उत्रनुअघिको पूर्वसन्ध्यामा सोमवार भारतकाे एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘एसियाली खेलकुदमा भाग लिन पाउनु आफैँमा एउटा ठूलो अवसर हो । गर्वको विषय हो,’ आफ्ना खेलाडीप्रति लक्षित गर्दै उनले भने । 

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले मंगलवार नेपालसँग खेल्दैछ । सोमवार भएको ‘ड्र’बाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो । 

नेपाल र भारतबीचको खेल मंगलवार बिहान हुनेछ । नेपालले हालैमात्र एसिया कपमा भारतको पहिलो रोजाइको टोलीसँग खेलेको थियो ।

एसियाली खेलकुदमा भने भारतले कप्तान रोहित शर्मा, विराट कोहलीजस्ता खेलाडीलाई पठाएको छैन । तर, रुतुराज गाइक्वाडको कप्तानीमा रहेको भारतीय टोलीमा राष्ट्रिय टीमको अनुभव प्राप्त थुप्रै खेलाडी समावेश छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार प्रदर्शन गरेका खेलाडीहरू यसमा अटाएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : ५६ बजे