सुनको मूल्यमा नयाँ कीर्तिमान

१९औं एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बंगलादेशसँग बराबरी खेल्यो

हाङझाउ (चीन) । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । नेपाल र बंगलादेश दुवैले एक–एक गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औं मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बंगलादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औं मिनेटमा सविना खातुनले गोल गरिन् ।

समूह ‘डी’ मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बंगलादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसँग २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसँग ८–० गोलअन्तरले पराजित भएको थियो । यस्तै बंगलादेश पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसित ६–१ गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ३८ बजे