विनोद चौधरीको कम्पनीमा आयकर विभागको छापा

काठमाडौँ। उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी)का तीन कम्पनीमा छापा मारेका हुन् ।   

भारतको राजस्थान मुलका बिनोद चौधरीको जयपुर, दौसा र सिकरमा रहेको कम्पनीमा छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ । बिनोद चौधरीको व्यापारमा साझेदारी गरेका अन्य व्यक्तिहरुको निवासमा समेत भारतीय आयकर विभागले रेड हानेको छ ।

आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । उनका भारतमा रहेका अन्य कम्पनी पनि निगरानीमा रहेको जी न्यूजले जनाएको छ । कम्पनीका आवश्यक कागजातहरु जफत गरेर आयकर विभागको टोली गुहाटी फर्किने छ ।

वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका छ । उनले सिजी कर्प ग्लोबलको नाममा त्यहाँ वाइवाइ कारखाना स्थापना गरेका छन्  । 

चौधरीले विदेशमा कमाएको धन नेपाल नल्याएको,यताको रकम अन्यत्र लगेको आरोप लाग्दै आएको छ । उनले करमुक्त राष्ट्रहरुमा करोडौं डलर पुर्याएको यसअघि नै पानामा पेपरले खुलासा गरिसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : १६ बजे