पूर्व राष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण

​​​​​​​​​​​​​​काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवसका अवसरमा काठमाडौँको वसन्तपुर दरबार परिसरमा आयोजित कार्यक्रममा माल्यार्पण गर्नुभएको छ ।

शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको २५५ औं पुण्यतिथिको अवसरमा पूर्व राष्ट्रपति भण्डारी वसन्तपुर दरबार पुगेर माल्यार्पण गर्नु भएको हो । 

पूर्व राष्ट्रपति भण्डारीले दरबार परिसरमा अवस्थित त्रिशूल चोकमा पुगेर तुलाराम पाँडेलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले डा. केके पाँडेकाजीले लेख्नु भएको पुस्तक काजी तुलाराम पाँडेको २५५ औ पुण्य तिथि श्रद्धाञ्जली पुस्तिका र ज्ञानमणि नेपालले लेख्नु भएको पुस्तक कपर्दार भोटु पाँडेको पुस्तक विमोचन गर्नुभएको थियो ।

विसं १७७५ मा जन्मिएका काजी तुलाराम पाँडेले विसं १८२५ मा सहादत प्राप्त गर्नुभएको थियो ।नेपाल एकीकरण अभियानका सारथि काजी तुलाराम पाँडेको स्मृति दिवसमा उहाँको योगदानको स्मरण गर्दै हरेक वर्ष मनाइँदै आइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ४२ बजे