दलित गाउँका पहिलो शिक्षक

सर्लाहीमा आज पनि कर्फयू

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ।

धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन समस्याग्रस्त बन्दै गएको छ ।
कर्फ्युको कारण शुक्रबार दिनभर बन्द रहेको मलंगवा आज पनि बिहानैदेखि सुनसान छ। मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन्।

मलंगवामा आज पनि अनिश्चितकालीन कर्फ्युलाई निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्युअघि बिहीबार राति भएको झडपमा परेर ८ जना घाइते भएका थिए। त्यसमध्ये एकजनाको अवस्था गम्भीर छ। उनको वीरगञ्जमा उपचार भइरहेको छ।

शुक्रबार मलंगवामा केही व्यक्तिले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

मलंगवामा उत्पन्न विवाद समाधानको लागि शुक्रबार सीडीओ कार्यालयमा सर्वपक्षिय बैठक बसेको थियो। उक्त बैठकले धार्मिक समूहको नाममा मलंगवामा साम्प्रदायिक सद्भाव विथोल्ने ढंगले भइरहेका गतिविधिविरुद्ध खेद व्यक्त गरेको छ।

सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्त्व विरुद्ध कडा प्रशासनिक कदम चाल्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : २० बजे