सुनको मूल्यमा नयाँ कीर्तिमान

‘जासुसमाथि नै प्रतिजासुसी गरेपछि भारतको संलग्नता खुल्यो’

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण गुप्तचरहरूबाटै प्राप्त भएका क्यानडाका एक जना अधिकारीले बताएका छन् । भारतको बाह्य खुफिया संस्थाका कर्मचारीमाथि निरन्तर गरिएको गुप्तचरीबाट उनीहरूको पोल खुलेको उनले एशोशिएटेड प्रेसलाई बताएका छन् ।  

क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र खुफिया एजेन्सीका अधिकारीको संलग्नतामा ४५ वर्षीय पृथकतावादी नेता हरदिपसिंह निज्जरको हत्या भएको सूचना अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यनाडा संलग्न साझेदार खुफिया समूह ‘फाइभ आइज्’ले उपलव्ध गराएको नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए । उनले हत्याको सूचना कुन देशको जासुसी संस्थाबाट प्राप्त भएको हो भन्नेबारेमा भने केही उल्लेख गरेनन् । 

हत्यामा भारतीय  कूटनीतिज्ञ एवं जासुसको संलग्नता रहेको समाचार सबैभन्दा पहिले क्यानडाको प्रसारण संस्था क्यानडा ब्रोडकास्टिङ कर्पोरेशनले सार्वजनिक गरेको थियो ।  

भारतले क्यानडाका नागरिकलाई भिसा नदिने निर्णय गरेपछि हत्यामा भारतको हात रहेको गुप्तचर निकायबाट प्राप्त विवरण बाहिर आएको हो । भारतले नयाँदिल्लीमा रहेका क्यानडाली कूटनीतिक कर्मचारीको सङ्ख्या घटाउन भनेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ । 

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको  ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो । पेशाले प्लम्बर उनलाई क्यानडाले सन् २००७ मा नागरिकता दिएको थियो । 

क्यानाडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका बताउनुभएको थियो । 

क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो । 

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई बिहीबार सम्बोधन गर्दै क्यानडाका प्रधानमन्त्रीले ओटावा र नयाँदिल्लीबीच कूटनीतिक सम्बन्ध जटिल मोडमा पुगेको स्वीकार गर्नुभयो । उहाँले भारतसँग सम्बन्ध बिगार्न आफूले नचाहेको तर विधिको शासनको पालना तथा आफ्ना नागरिकको रक्षा आफ्नो पहिलो कर्तव्य भएको बताउनुभयो । 

यसअघि क्यानडाले पृथकतावादी खालिस्तान नेता  निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । 

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गरिएकोे जानकारी दिँदै निजलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको थियो ।

भारतले क्यानडाका नागरिकलाई भिसा नदिएपछि उसको पर्यटन क्षेत्रमा असर पर्ने दुवै देशका पर्यटन व्यवसायीले बताएका छन् । भारतको अध्यागमन कार्यालयका अनुसार गत वर्ष दुई लाख ७७ हजार क्यानडाका पर्यटकले भारत भ्रमण गरेका थिए । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : २३ बजे