गण्डकी प्रदेशका सांसदलाई अब सुन र चाँदी जडित लोगो

पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) हरूलाई सुन र चाँदी जडित लोगो उपलब्ध गराइने भएको छ । लोगोमा माछापुच्छ्रेलाई सुनौलो र माथिको भाग निलो एवं हिमाल तल सेतो रङ्ग रहेको रहने गरी सेतो भागमा चाँदी र पहेंलो भागमा सुनको जलप लगाउने गरी लोगो बनाउन लागिएको हो । 

हाल आफूहरूले प्लाष्टिकको नमुना लोगो बनाएको र अब धातुमा उक्त लोगो बनाए पछि उक्त लोगोलाई अन्तिम रूप दिने गरी तयारी भएको लोगो सम्बन्धी आवश्यक तयारी गर्न प्रदेशसभा नियमावली मस्यौदा समितिका सभापति विन्दुकुमार थापाले बताउनु भयो । उहाँका अनुसार गण्डक प्रदेशको क्षेत्रलाई खरानी रङ्ग दिइएको छ ।

प्रदेश सभाबाट स्वीकृत नियमावलीअनुसार नयाँ लोगो दिएसँगै नयाँ लोगो बनाउन लागिएको सभापति थापाले बताउनु भयो । नियमावलीको अनुसूची ८ मा सांसदले लगाउने प्रतीक चिन्ह (लोगो)का विषयमा स्पष्ट किटान गरिएको उहाँको भनाई छ । 

यसअघि प्रदेश सरकारले सार्वजनिक आव्हान मार्फत लोगोको डिजाइन मागेको थियो जसमा  प्रदेश सभाकै कर्मचारीद्वारा डिजाइन गरिएको लोगो छनौट भएको हो । २५ हजार रुपैयाँ पुरस्कार राशिसहित उक्त लोगो छनौटमा परेको हो । 

लोगो सम्बन्धी आवश्यक तयारी गर्न प्रदेशसभा नियमावली मस्यौदा समितिका सभापति थापा रहनु भएको छ भने भने सदस्य सुधिरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको छ । हालसम्म प्रदेशका सांसदहरुले प्लाष्टिकको लोगो लगाउँदै आउनु भएको छ । अबको केही दिनमै नयाँ लोगोको डिजाइन पुनः एक पटक हेरेर त्यसलाई अन्तिम रूप दिने तयारी भएको थापाले बताउनु भयो । आवश्यक विधि र प्रक्रिया पूरा गरेर उक्त लोगो बनाउन कोटेसन आव्हान गरी बनाउने भएको सभापति थापाले बताउनु भयो । यस अघि सांसदहरुले लगाएको लोगो भन्दा अब बन्ने लोगोमा धातु जडित(लेपन) हुने हुँदा केही महँगो भने अवश्य हुने भएको छ । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : २० बजे