मुख्यमन्त्रीलाई भेटेर राउटेहरुले भने – दशैँमा खसीकाे बली दिनुपर्छ, दुई लाख रुपैयाँ चाहियो

दाङ । दशैँ खर्च जाेगाड गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलई भेट्न दाङ पुगेका राउटे समुदायका अगुवाले दुई लाख रुपैयाँ दशैँ खर्च उपलब्ध गराउन आग्रह गरेका छन् । 

दशैँमा खसी बलि दिनुपर्ने भएकाले दुई लाख आवश्यक परेकाले खर्च जुटाइदिन भन्दै उनीहरुले मुख्यमन्त्रीसँग आग्रह गरेका हुन् । 

बिहीबार मुख्यमन्त्री कार्यालयमा पुगेका राउटे समुदायका अगुवा लालबहादुर शाहीसहित बिर्खेबहादुर शाही र जीवन शाहीले मुख्यमन्त्री चौधरीसँग भेटेर भने ,‘दशैँ आइसक्यो, हाम्रो जनताले दशैँमा बलि दिनुपर्छ। खसी खानु पर्छ। सरकारले पैसा दिनु पर्‍यो ।’  

‘८६ घर जनता छौँ । हामीले लगेर सबै जनतालाई बाँड्छौँ’उनीहरुले मुख्यमन्त्री चाैधरीसँग भने । अहिले आफूहरू दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको समेत बताए।
 
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशैँ खर्चका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन दिए। उनले २/३ दिनभित्र उचित सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : ०२ बजे