‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पठनपाठन भए नभएकाे बुझ्न महानगरका ८९ विद्यालयमा खटिए नगरप्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयमा पठन पाठन भए नभएको अनुगमन गर्न नगरप्रहरी खटाएको छ । 

प्रस्तावित शिक्षा विधेयकविरुद्ध सडक आन्दोलनमा उत्रिएका देशैभरीका शिक्षकहरूलाई साथ दिन काठमाडौँ महानगरपालिका भित्रका शिक्षकहरू पनि विद्यालय बन्द गरेर आन्दोलनमा गएका थिए । 

विद्यालयमा पठन पाठन प्रभावित नगर्न महानगरपालिकाले आग्रह गरेको थियो । विद्यालय बन्द गरेर आन्दोलनमा जाने विद्यालयका प्रअ र शिक्षकहरूलाई महानगरले कारबाहीको चेतावनी दिएको थियो । 

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताए । नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएको उनले जानकारी दिए ।

नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने उनको भनाइ छ ।

तर शिक्षक महासङ्घले विज्ञप्ति नै जारी गरेर महानगरको निर्देशनलाई नमान्ने जनाइसकेको छ । महानगरभित्रका अधिकांश सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू आज पनि आन्दोलनमा होमिएका छन् । 

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १ : १९ बजे