स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

महेन्द्रनगर । मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

मंगलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले कुटपिट गरेका थिए । केन्द्रमा दुर्घटनामा परी घाइते भएका बेलौरीकै बाबुराम चौधरीको उपचारका खटिएका बेला खड्कासहितको समूहले कुटपिट गरेको भन्दै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बुधबार विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाको छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आजबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

त्यसैगरी नेपाल सीएमए संघ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ । संघले विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी गैरेमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : ४२ बजे