‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आन्दोलनका नाममा शिक्षकले विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाले शिक्षा विधेयक विरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकलाई लक्षित गर्दै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिएको छ। महानगरले आज एक सूचना जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न पत्रपत्रिकामा आएको समाचार र प्रेस विज्ञप्तिप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुने भएकाले आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने जनाएको हो।  विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने महानगरले चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको मिति २०६८। २।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७४ को दफा ३८ तथा अन्य प्रचलित शिक्षा ऐन तथा नियमावलीको भावना प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्र" को अवधारणा विपरीत अवाचित कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई विदितै छ।’ 

सामुहिक सौदाबाजीका माग राख्ने र पूरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुने महानगरपालिकाको भनाई छ। विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनैपनि अर्थमा युक्तिसङ्गत र क्षम्य हुँदैन। संघीय सरकारसँगका माग सम्बोधनका नाममा कोभिङ-१९ महामारीको कारण प्रभावित भएको शिक्षा क्षेत्रको गुणस्तर सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु निश्चयपनि शिक्षकको नैतिकता र आचारणले दिँदैन। शिक्षकका पेसागत वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको मार्ग प्रशस्त हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरीत हुने विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौ महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने व्यहोरा जानकारीका लागि निर्देशानुसार अनुरोध छ।’

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक काठमाडौंमा उपस्थित भएर आन्दोलनमा उत्रिएका छन्। नेपाल शिक्षक संघको आह्वानमा बुधबारबाट देशभरिका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका हुन्। 

अस्थायी अवधि गणना तथा निवृत्तिभरण,शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाइ छ। शिक्षकको  नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को मस्यौदा माथि नेपाल शिक्षक महासंघले पेश गरेको सुझावमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई पटकपटकको संवाद र छलफल पछि पनि समावेश नै नगरी त्यसलाई विधेयकको रुपमा संसदमा पेश भएको उनीहरुको भनाई छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : १४ बजे