सुनको मूल्यमा नयाँ कीर्तिमान

आफ्ना नागरिकलाई क्यानडाले भन्यो- जम्मु-कस्मिर,मणिपुर र आसाम नजानू,त्यहाँ खतरा छ

​​​​​काठमाडाैँ । भारत र क्यानडाबीचको कूटनीतिक विवाद चर्किँदै गएको छ । क्यानडामा खालिस्तान अभियानका सिख नेता हरदीप सिंह निज्जरको हत्या भएपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीपको हत्यामा भारतको हात भएको अनुसन्धानमा देखिएको बताएका छन् ।

क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेपछि भारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न आदेश दिएको छ । यस्तोमा क्यानडाले फेरि मंगलबार राति आफ्ना नागरिकलाई भारतको जम्मु-कस्मिर, मणिपुर र आसाम भ्रमण नगर्नू भन्दै निर्देशन जारी गरेको छ ।

भारतका ती स्थानमा आतंकवाद र अपहरणको खतरा भएको क्यानडा सरकारको भनाइ छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालै त्यहाँको संसदमै हरदीप सिंह निज्जरको हत्याको विषयमा भनेका थिए, ‘क्यानडाको भूमिमा यहाँकै नागरिकको हत्यामा कुनै पनि विदेशी सरकार संलग्न हुनु त्यो हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लंघन हो ।’ उनका अनुसार भारतीय मूलका सिख समुदायका नागरिकहरू हरदीप सिंहको हत्याले आक्रान्त बनेका छन् । उनीहरू आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् ।

ट्रुडोका अनुसार क्यानडा सरकार भारतसँग तनाव बढाउन चाहँदैन । तर, भारतले यी मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्छ । तर, भारतले भने क्यानडाले लगाएका सबै आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडाको सबै आरोप झुटा हुन् । यस्तै आरोप क्यानडाका प्रधानमन्त्री ट्रुडोले हाम्रा प्रधानमन्त्रीसमक्ष पनि राखेका थिए र सुरुमै ती आरोपलाई खारेज गरिएको थियो ।’

भारत थप भन्छ, ‘यस्ता आधारहीन आरोप खालिस्तानी आतंककारी र अतिवादीहरूबाट ध्यान हटाउने प्रयास हुन् । उनीहरूलाई क्यानडामा शरण दिइएको छ र उनीहरू भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन् ।’ भारतसँगको टकरावकाबीच क्यानडाका विपक्षी नेता पियरे पोएलिभरले भारतको सन्दर्भमा प्रधानमन्त्री ट्रुडोले स्पष्ट कुरा भन्नुपर्ने बताएका छन् । उनका अनुसार ट्रुडोले प्रमाणसहित बोल्नुपर्छ र प्रमाण भए देखाउनुपर्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडामा हत्या गरिएका हरदीप सिंह निज्जर भारतमा मोस्ट वान्टेड सूचीमा रहेका आतंकवादी थिए । पञ्जाव जलन्धरस्थित भारसिंह पूरा गाउँमा जन्मिएका हरदीप सिंह सन् १९९२ मा क्यानडा गएका थिए । उनी त्यसबेला खालिस्तान टाइगर फोर्स केटीएफका प्रमुख थिए । पछिल्लो समय भारतभित्रै र क्यानडा तथा अन्य देशहरूमा खालिस्तान आन्दोलन चर्किएको छ । खालिस्तान आन्दोलन भारतबाट पञ्जाव प्रान्तलाई अलग्याउने अभियानसँग सम्बन्धित छ ।

भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सीको ४० जना आतंकवादीको सूचीमा पनि हरदीप सिंहको नाम उल्लेखित छ ।

-दैनिक भास्करको सहयोगमा

 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : ४० बजे