नवौँ संविधान दिवस : देशमा न प्रधानमन्त्री नत सभामुख

काठमाडौँ । सरकारले टुँडिखेलमा औपचारिक समारोह गरेर आज नवौँ संविधान दिवस मनाएको छ । सरकारी निकायलाई पनि साँझ दीपावली गर्न सरकारले उर्दी जारी गरेको छ ।

तर यस पटकको संविधान दिवस निराश रह्यो । देशले यो दिवस मनाइरहँदा देशमा न प्रधानमन्त्री छन् नत संसद्का सभामुख नै । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र सभामुख देवराज घिमि आयरल्यान्डमा छन् । प्रधानमन्त्री संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्न अमेरिका पुगेका छन् । जबकि यो सम्बोधन गत वर्ष परराष्ट्र सचिवले गरेका थिए भने त्यो भन्दा अघिल्लो वर्ष मन्त्रीले । संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्न अब देशका प्रधानमन्त्री तथा राष्ट्रपतिहरु जाने प्रचलनमा अब धेरै कमी आएको छ । अहिले नै पनि धेरै देशका गएका छैनन् ।

तर हाम्रो देशका प्रधानमन्त्री भने उक्त सभामा सम्बोधन गर्न अमेरिका पुगेका छन् । संविधान दिवसको समारोह बारे थाहा हुँदाहुँदै पनि मिल्ने सम्मका कार्यक्रमहरूलाई छोटाएर या कटाएर मुलुकको कार्यकारी प्रधानमन्त्री बस्नुपर्दथ्यो । तर विदेश भ्रमणमा जान पाएपछि नेपालका नेताको मन लोभिने त पुरानै परम्परा हो, त्यसले अहिले पनि निरन्तरता पायो ।

त्यस्तै संविधान जारी गर्ने पूर्व राष्ट्रपति डा रामबरण यादव बिरामी भएर वीर अस्पताल भर्ना छन् भने यो संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको १३ दिन समेत पुगेको छैन ।

संविधान सभाका दिन  संविधानसभाका अध्यक्ष नेम्वाङको देशभरि स्मरण भइरहेको छ । त्यस्तै संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइराला पनि अहिले हामी बीच छैनन् । उनको पनि आजका दिन स्मरण भइरहेको छ ।

 टुँडिखेलमा जारी संविधान दिवस कार्यक्रमलाई कार्यवाहक प्रधानमन्त्रीले सम्बोधन गरेका छन् । भव्य हुनुपर्ने राष्ट्रिय दिवसको निरशपना नेपाली जनताले आजका दिनमा महसुस गरेका थिए ।

सर्वसाधारण जनता भने अघिल्लो पटक जस्तै यस पटक पनि टुँडिखेल बाहिर उभिएरै रेलिङबाट कार्यक्रम हेरेर बसेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : २१ बजे