द्रुत बसको उद्घाटन आज : १९ स्थानमा रोक्ने, कति छ भाडा ?

काठमाडौँ – संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक–रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवा आजबाट संचालनमा ल्याइको हो ।

आज बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयर चढ्नु हुनेछ । 

यात्रुहरुका लागि भने भोलिदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने जनाइएको छ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडीबुटीलगायत  ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने जनाइएको छ ।

द्रुत सेवाका बसहरुले पनि रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिने यातायात व्यवस्था विभागले जनाएको छ ।  

विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले भने यात्रुहरु कुरेर बस्ने छैनन् ।

रातो रंगले पोतिएको लेनमा दैनिक बिहान ९  देखि ११ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : ५२ बजे