साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

विज्ञान र प्रविधि : समृद्धिको अमूल्य निधि

जीवनको दुःख, पीडा र जटिलताबाट सुखी, सन्तुष्ट र सरल बनाउने सन्दर्भमा मानव जातिले विज्ञानका विभिन्न विधाका आविष्कार गर्दै अगाडि बढेको हो । मानव सभ्यताको सुरुवातसँगै जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । विज्ञानको चेतसँगै दैनिक जीवनलाई सजिलो बनाउन प्रविधिको विकास हुँदै जान्छ र आवश्यकताअनुसार प्रविधिमा स्थान विशेष, हावा पानी, स्रोत साधनको उपलब्धतासँगै नवप्रवर्तनको खाँजो पर्दै जान्छ । नवप्रवर्तन अर्थात् इन्नोभेसनमार्फत उपलब्ध प्रविधिलाई सर्वसुलभ बनाउन सकिन्छ र विकास निर्माणलाई आम जनताको श्रीवृद्धिमा प्रयोग हुन जाँदा राष्ट्र समृद्धिको यात्रामा अगाडि बढेको हुन्छ । विज्ञान प्रविधिमा देश तथा समाजको आवश्यकताअनुसार नवप्रवर्तनले सदैव नयाँ नयाँ कुराको माग गरिरहेको हुन्छ किनभने देश, समाज र व्यक्तिका आवश्यकताहरू पनि फरक फरक प्रकृतिका हुन सक्छन् । समकालीन विश्वमा विभिन्न देशहरूले विज्ञान र प्रविधिको प्रयोगमा चमत्कारिक उपलब्धि हासिल गरेका छन् र विकासमा उल्लेख्य प्रगति गरेका छन् । 

नेपालमा विज्ञान शिक्षा तत्कालीन त्रिभुवन चन्द्र क्याम्पसमा १९७६ सालबाट आइएस्सी पढाइबाट थालिएको थियो र बिएस्सीको पढाइ वि.सं. २००४ सालबाट सुरु भएको हो । वि.सं. २०२२ साल मङ्सिरबाट त्रिभुवन विश्वविद्यालयको स्थापनापश्चात् स्नातकोत्तर तहमा विज्ञान विषयको पढाइ सुरु भएको थियो ।  पहिले स्नातकोत्तर तहका  विज्ञान कक्षाहरू  त्रिचन्द्र  कलेजमा सञ्चालित थिए भने पछिबाट कीर्तिपुरमा हुन लागेको हो । हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ विकाससँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रवर्तनको विषयमा खुलेर छलफल सुरु भएको छ , यसलाई सुखद सङ्केतका रूपमा लिन सकिन्छ ।

नेपालमा विज्ञान र प्रविधिको अध्ययन अध्यापन  गराई जग बसाली महत्त्वपूर्ण योगदान पु¥याएको ‘पब्लिक साइन्स कलेज’ को स्थापना २०१३ साल असोज १ गते भएको थियो र आज उक्त कलेज हाल त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पसका रूपमा अमृत साइन्स क्याम्पसका रूपमा चिनिएको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा हाल विभिन्न विश्वविद्यालयका विभिन्न संस्थाले औपचारिक शिक्षा प्रदान गरी महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यसै सन्दर्भमा नेपाल सरकारले २०७० सालबाट हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइरहेको  छ ।  विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्वलाई बुझाउने दिवसको रूपमा मनाउन थालिएको हो । 

नेपाली समाज र सभ्यतामा अनेकौँ प्रकारका प्रविधिहरू प्रयोग गरिएका छन् । हाम्रा अति नै मौलिक प्रविधिहरूलाई  संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक हुन्छ । विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरिएको रहेछ  र पुर्खाहरूले कसरी अगाडि बढाएका रहेछन् भन्ने कुराको खोजीनिती हुनु अहिलेको आवश्यकता हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै शिल्पीहरूको ज्ञान र प्रविधिलाई अपनाएको सन्दर्भ एकातिर छँदै छ भने राणा परिवारमा जन्मिएर विज्ञान, प्रविधि र नवप्रवर्तनमा गेहेन्द्र समसेर राणाको विशेष भूमिका छ भने मुसे थापालगायतका अनुसन्धानताले परम्परागत प्रविधिको संरक्षण गर्दे आधुनिक विज्ञानको उपयोगमा कार्यसम्पादन गरेको पाइन्छ । विज्ञानले ल्याएको विकास भन्नासाथ ठुला हवाईजहाज, शक्तिशाली बम र ठुला कलकारखाना मात्र हुन् भनेर सोच्ने चिन्तन आफैँमा अधुरो छ । यी वस्तुहरू पनि मानवीय सुख, सुविधा र आवश्यकताले आदिम कालदेखि आविष्कार गरिँदै आएका विज्ञान, प्रविधि र नवप्रवर्तनका परम्परामा यी पछिल्ला उदाहरणहरू मात्रै हुन् भन्ने बुझ्दा हुन्छ ।  विज्ञान दिवसको अवसरमा देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्वलाई नीति निर्माणको तहमा पु¥याउन विशेष पहल गर्दै युवा प्रतिभाहरूलाई आकर्षित गर्ने खालका विशेष कार्यक्रम ल्याउन पहल गर्नु अनिवार्य छ । 

विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्यसम्पादनमा सहजता ल्याउन सक्नुपर्छ । आम जनमानसमा रहेको परम्परागत ज्ञान, सिपलाई परिष्कृत गर्ने खालको हुनुपर्छ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सिपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम यदाकदा ल्याएको भए पनि व्यवहारमा लागु हुन सकेको छैन । यस्ता कार्यका लागि सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । देशको भौगोलिक विशिष्टतालाई बुझेर, त्यहाँको स्रोतसाधनमा आधारित उद्योग तथा कल कारखाना खोलेर रोजगारीको वृद्धि गर्दै आत्मनिर्भर देश बनाउने हिसाबले नीतिहरू अवलम्बन गर्नुपर्छ, अनि मात्र युवा पलायनलाई रोक्न सकिएला । विज्ञान प्रविधि दैनिकीसित जोडिँदै राष्ट्र निर्माणमा भूमिका खेल्न तहमा पुग्नुपर्छ । 

देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महत्व हुने गर्दछ, विकास भनेको खासमा  एकीकृत पहल हो । तराई भूभागको आफ्नै खास महत्त्व छ भने पहाडी तथा हिमाली भूभागको पनि त्यसरी नै विशेष भूमिका र महत्व रहेको छ । विविधतासँगै आबहवामा पनि विविधता छ र भू–भागको विविधताअनुसार उत्पादन गरिने वस्तुहरू फरक हुनु स्वाभाविक हो । जुन कुरा हिमाली तथा उच्च पहाडी भूभागमा उत्पादन हुन सक्छ वा हुन्छ, त्यही कुरा मध्य पहाडी क्षेत्रमा नुहुन  पनि सक्छ । आधुनिक विज्ञान प्रविधिको प्रयोगसँगै हाम्रा पारम्परिक ज्ञान प्रविधिलाई पनि परिमार्जन गर्दै अगाडि बढ्ने हो भने उत्पादनमा वृद्धि भई समृद्ध नेपाल बन्न सक्ने छ । एक ठाउँको उत्पादन र उपयोगिता अर्को ठाउँका जनतामाझ पु¥याउन नसक्नु नै हामी विकासमा पछाडि पर्नुको खास कारण हो । कृषिमा आधारित लघु उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलफूलमा आधारित उद्योगहरू, पशुपालन तथा दुग्ध व्यवसाय तथा वन पैदावारमा आधारित उद्योगहरू जडीबुटी उत्पादन, मह–उत्पादन, चिया, अलैँची, अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामञ्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।

आफू जन्मिएको, हुर्किएको देश र त्यहाँको  गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा रहेको व्यक्तिले पनि कहिल्यै बिर्सन सक्दैन, यो मानवीय गुण हो । जीवनमा केही प्राप्त गरिसकेपछि आºनो देश र जनतामा लाभ पु¥याउने हेतुले जो कसैले विभिन्न प्रकारले सहयोग गर्न चाहन्छ र सक्छ । आफ्नो जीवन सार्थक बनाउन सबैले चाहन्छन्  यसको लागि सकेको योगदान गर्न सबैले खोजेका हुन्छन् ।  विदेशमा पढे लेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तिहरू नेपालमा फर्किएर काम गरिरहेका  र गर्न खोजिरहेका प्रशस्त उदाहरणहरू पनि छन् तर सरकारबाट उचित वातावरण र प्रोत्साहन दिन नसक्दा राष्ट्र चुक्दै गएको अनुभूति गर्न सकिन्छ ।

एउटा अति नै मार्मिक सत्य र तथ्य के हो भने धेरै अनुसन्धानमा नाम कमाएका  विज्ञान कर्मीहरू आफ्नो देशमा नै  केही काम गर्ने इच्छाका साथ फर्किएका छन् तर राज्यले यसको बारेमा पटक्कै साेंचेको पाइँदैन । वैज्ञानिक अनुसन्धान गरेर राष्ट्रको समृद्धि सपनामा  योगदान पु¥याउन भनेर खोलिएका  संस्थाहरू, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू, प्रयोगशालाहरू रुग्ण बन्दै गइराखेका छन्  तर तिनै संस्थाहरू, विश्वविद्यालयहरूलाई चाहिएका सिद्धहस्त व्यक्तिहरूलाई  कुनै स्थान उपलब्ध गराउन सरकार  र  सम्बद्ध संयन्त्रको कुनै योजना छैन । विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक सङ्घसंस्था, सरकारी निकाय, गैरसरकारी सङ्घसंस्थामा कार्यरत देशबाहिर रहेका जनशक्तिलाई एक आपसमा सहकार्य गर्ने वातावरण मिलाई दिन पनि अति नै जरुरी छ । यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्दछ । अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पु¥याउन सकिन्छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विज्ञान तथा प्रविधिको विकासका लागि स्थापना गरिएको मुख्य निकाय हो । त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्ट, नेपाल सरकारको वनस्पति विभागअन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । नास्टलाई सबल संस्थाको रूपमा विकास गर्न पहल लिनुपर्छ । नास्ट तथा विश्वविद्यालयहरूले विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानविद्हरूलाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउनुपर्छ । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । यी राज्य पोषित निकायहरूले जनताले अपनत्व ग्रहण गर्ने कार्य गर्न सकेका छन् कि छैनन् भनेर विचार गर्न आवश्यक छ । 

खास गरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको मान्न सकिन्छ । सरकारी सेवा प्रवाहमा डिजिटल प्रणाली सुरु हुँदैन । यसका लागि डिजिटल साक्षरता बढाउन पहल गरिनुपर्छ । तर नेपालमा जति फाइदा लिनुपर्ने हो त्यो हुन सकेको छैन किनभने हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रूपमा मात्र प्रयोग गरिरहेका छौँ । यसरी प्रविधिलाई कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याउन सकियो भने मात्र केही उपलब्धि हासिल गर्न सकिएला । यसै गरी स्वास्थ्यको क्षेत्रमा पनि सूचना प्रविधिलाई प्रयोग गर्न सम्भव छ । खासमा भन्ने हो भने कोरोना कालमा देशमा विद्यालय, महाविद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाहरू सूचना प्रविधिको प्रयोग गरेर सञ्चालन गर्न सफल भएका छन् । अप्ठ्यारो समयमा शिक्षाको गतिलाई अवरुद्ध हुनबाट बचाउन धेरै हदसम्म सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ । यस हिसाबले सूचना प्रविधिको विकास र पहुँच सन्तोषजनक ढङ्गले अगाडि बढिरहेको भन्न सकिन्छ ।

कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैँ जाग्नुपर्ने हुन्छ । जनताहरू आफै जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण अति आवश्यक हुन्छ । हाल नेपाली अधिकांश युवा विदेश गइरहेका छन् त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्छ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नतर्फ देशले ध्यान दिनु जरुरी छ । जबसम्म नेपालमा विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर ‘अनुसन्धान र नवप्रवर्तन कोष’ खडा गरिँदैन सरकार र समाजले गम्भीरताका साथ लिँदैन तबसम्म विदेश लाग्ने नेपाली युवाहरूको लर्को रोकिने छैन ।

राजनीतिक स्थिरता र इमानदार राज्य व्यवस्थाले मात्रै हुने हो भने नेपालको भौगोलिक विविधता, परिश्रमी जनता, विभिन्न जनसमुदायमा भएको सिप, समाज  र उमेर समूह वरदान हुन सक्ने देखिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन सक्ने प्राज्ञिक संस्थाहरू, अनुसन्धान केन्द्रहरू, गैर सरकारी सङ्घ संस्थासहित देशबाहिर रहेका जनशक्तिलाई पनि उत्प्रेरित गरी आर्जित ज्ञान, सिप र अनुभवलाई देश हितमा लगाउन सरकारले विशेष ध्यान पु¥याउनुपर्छ तर योग्यताको आधारमा भन्दा भनसुन र बन्द हडतालको माध्यमबाट बल प्रयोग गरेर घुसपैठ गर्ने र यस्तै प्रवृत्तिलाई सरकार र राजनीति कर्मीहरूले प्रश्रय दिने कामलाई बन्द गरिनुपर्छ । अन्तमा, विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने, संरचना निर्माण गर्ने र विज्ञानको जग राख्न महत्त्वपूर्ण भूमिका खेल्नुहुने व्यक्तिहरूलाई सम्झने र सम्मान गर्ने दिनको रूपमा पनि विज्ञान दिवसलाई  लिनुपर्छ  र  केही गर्ने उत्साहका साथ अघि बढ्न खोजेका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने दिनको रूपमा लिनुपर्छ । यस कार्यका लागि विषय विज्ञहरूका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सकिने छ । हामी नेपालीहरूले विगत लामो समदेखि राजनीतिक अस्थिरता व्यहोरी राखेका छौँ । विकास र समृद्धि आफ्नै जीवनकालमा देख्न र भोग्नका लागि विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न जरुरी छ। “विज्ञान साक्षरता र उद्यमशीलतासङ सबल अर्थतन्त्रको  आधारशिला” भन्ने नारालाई सफल पार्न दीर्घकालीन योजनाको आवश्यकता छ । ११  औँ विज्ञान दिवसको सबैमा शुभकामना !

               (डा. शर्मा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।) 

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ५८ बजे